एमिरेट्सले ७ गन्तव्यसँग पर्यटन सम्झौता गर्‍यो, मलेसियादेखि फिनल्यान्डसम्म पर्यटक बढाउने लक्ष्य

आप्रवासन आप्रवासन

दुबई । दुबईको प्रमुख वायुसेवा कम्पनी Emirates ले विभिन्न देश तथा क्षेत्रका पर्यटन निकायसँग सातवटा पर्यटन सम्झौता गरेको छ। सेशेल्स, मौरिसस, माडागास्कर, मलेसिया, फिनल्यान्ड, पश्चिमी नर्वे र यूएईको शारजाहसँग गरिएको सम्झौताले ती गन्तव्यमा अन्तर्राष्ट्रिय पर्यटक बढाउने र पर्यटन बजार विस्तार गर्ने लक्ष्य राखेको छ।

अरबियन ट्राभल मार्केट २०२६ का क्रममा भएका यी सम्झौताअन्तर्गत संयुक्त प्रचार अभियान, विज्ञापन, यात्रासम्बन्धी कार्यक्रम तथा सञ्चारमाध्यम र पर्यटन व्यवसायीका लागि परिचयात्मक भ्रमण आयोजना गरिनेछ। Emirates ले आफ्नो विश्वव्यापी उडान सञ्जालमार्फत ती गन्तव्यमा पर्यटक आकर्षित गर्ने योजना बनाएको हो।

सेशेल्ससँगको सहकार्यलाई Emirates ले निरन्तरता दिएको छ। सन् २०१३ देखि रहेको साझेदारीअन्तर्गत संयुक्त पर्यटन प्रचार र सञ्चारमाध्यम तथा पर्यटन व्यवसायीका लागि परिचयात्मक भ्रमण गरिनेछ। Emirates ले सेशेल्सको मुख्य टापु माहेमा दैनिक दुई उडान गर्दै आएको छ। सन् २०२५ मा सेशेल्स पुगेका पर्यटकको संख्या १३ प्रतिशतले बढेर करिब ४ लाख पुगेको थियो।

मौरिसससँगको दुई दशकभन्दा लामो सहकार्य पनि नवीकरण गरिएको छ। सन् २०२६ को पहिलो ६ महिनामा मध्यपूर्वबाट मौरिसस पुगेका पर्यटक अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.५ प्रतिशत बढेका छन्। Emirates ले दुबई–मौरिससबीच दैनिक तीन उडान गर्दै आएको छ, जसबाट दुवैतर्फ गरी हप्तामा १९ हजार ९६ सिट उपलब्ध छन्।

माडागास्करसँगको सम्झौता भने सन् २०२८ सम्ममा वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्यसँग जोडिएको छ। Emirates र माडागास्करको पर्यटन मन्त्रालयले प्रमुख बजारमा प्रचार, विशेष पर्यटकीय प्याकेज र पर्यटन व्यवसायीसँगको सहकार्य बढाउने भएका छन्।

मलेसियासँग Emirates ले एक वर्षका लागि पर्यटन साझेदारी गरेको छ। यो साझेदारी मलेसियाको सन् २०२६–२०२७ को पर्यटन अभियानसँग जोडिएको छ, जसले ४ करोड ७० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। Emirates ले दुबई र क्वालालम्पुरबीच हप्तामा २१ उडान गर्दै आएको छ।

फिनल्यान्डसँगको सम्झौता भने आगामी अक्टोबर १ देखि सुरु हुने हेलसिन्की उडानसँग जोडिएको छ। नयाँ उडानमार्फत फिनल्यान्ड र यूएईबीच वर्षभर प्रत्यक्ष हवाई सम्पर्क स्थापना हुनेछ। यसबाट पूर्वी तथा दक्षिणपूर्वी एसिया, पश्चिमी एसिया, अस्ट्रेलिया, मध्यपूर्व र अफ्रिकाबाट फिनल्यान्ड जाने पर्यटकलाई लक्षित गरी प्रचार गरिनेछ।

Emirates ले पश्चिमी नर्वेको पर्यटन निकायसँग पनि सम्झौता गरेको छ। यसअन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय उडान सञ्जालमार्फत पश्चिमी नर्वेमा पर्यटक आगमन बढाउने प्रयास गरिनेछ। त्यस्तै, शारजाहसँगको पुरानो पर्यटन साझेदारी पनि नवीकरण गरिएको छ। खाडी क्षेत्र, भारत, चीन, पूर्वी एसिया र युरोपका बजारमा शारजाहको पर्यटन प्रवर्द्धन गरिनेछ।

पर्यटन सम्झौतासँगै Emirates ले प्रविधि कम्पनी हुवावे र दुबई ड्युटी फ्रीसँगको सहकार्य पनि नवीकरण गरेको छ। हुवावेसँग डिजिटल सेवा र यात्रुको अनुभव सुधारमा तथा दुबई ड्युटी फ्रीसँग दुबई हुँदै यात्रा गर्ने यात्रुलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने विषयमा सहकार्य गरिने कम्पनीले जनाएको छ।

Emirates का अनुसार यी सम्झौताले आफ्नो अन्तर्राष्ट्रिय उडान सञ्जाललाई पर्यटन प्रवर्द्धनसँग जोड्दै विभिन्न देशमा पर्यटक आगमन बढाउन सहयोग गर्नेछ।

स्रोत: Gulf News को मूल समाचार