नेटोका लडाकु विमानका पाइलटहरूले गएराति लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोन खसालेका छन्। लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले यसको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार सो ड्रोन मङ्गलवार मध्यरातपछि छिमेकी बेलारुसबाट लिथुआनियाको दक्षिणी क्षेत्र कौनास सहर नजिक प्रवेश गरेको अनुमान गरिएको छ।
राष्ट्रपति नौसेदाले लिथुआनियाको हवाई क्षेत्रमा भर्खरै प्रवेश गरेको ड्रोनलाई नेटोका लडाकु विमानले नष्ट गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। ड्रोन कहाँबाट आएको हो भन्ने अझै निश्चित भइनसकेको लिथुआनियाको राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रका प्रवक्ताले बताएका छन्। घटनापछि बिहान राजधानी भिल्नियस र आसपासका क्षेत्रमा बासिन्दालाई मोबाइलमा चेतावनी सन्देश पठाउँदै सुरक्षित स्थानमा रहन भनिएको थियो।
लिथुआनियाको रक्षा मन्त्रालयका अनुसार सशस्त्र सेना तथा नेटोको एयर डिफेन्स मिसनअन्तर्गत कार्यरत इटालीका पाइलटहरूले हवाई अतिक्रमणप्रति तत्काल र जिम्मेवार प्रतिक्रिया दिएका हुन्। रुसले युक्रेनविरुद्धको आक्रमण तीव्र बनाइरहेका बेला यस्तो तयारी अत्यन्त महत्त्वपूर्ण रहेको र नेटोका सहयोगी राष्ट्रहरूसँग मिलेर आफ्नो हवाई क्षेत्रको रक्षा गर्ने राष्ट्रपति नौसेदाले स्पष्ट पारेका छन्। यस घटनाबारे रुसले कुनै प्रतिक्रिया दिएको छैन।
युक्रेनमा रुसको आक्रमण सुरु भएयता युरोपभर सैन्य ड्रोनले हवाई क्षेत्र उल्लङ्घन गर्ने घटनाहरू बढ्दै गएका छन्। सोमबार राति पोल्यान्डले पनि रुसी मानवरहित हवाई साधनको गतिविधिका कारण आफ्नो हवाई क्षेत्रमा सतर्कता अपनाइएको जनाएको थियो। बाल्टिक क्षेत्रका एस्टोनिया र लाट्भियामा पनि यस्ता ड्रोन नियन्त्रण गर्न नेटोका लडाकु विमानहरू पटक-पटक परिचालन हुँदै आएका छन्।