साउदी अरबले मदिना क्षेत्रमा झन्डै ११ करोड टन दुर्लभ खनिज र युरेनियम फेला पारेको साउदी खरबले दाबी गरेको छ । साउदी ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को ७०औँ नियमित महासम्मेलनका क्रममा यो खोजबारे जानकारी दिइएको हो ।
मदिना क्षेत्रमा रहेको जबल सयिदमा गरिएको अन्वेषण तथा भूगर्भीय अध्ययनका आधारमा त्यहाँ दुर्लभ माटोका तत्वको उच्च मात्रा र युरेनियमको सम्भावनायुक्त मात्रा रहेको पत्ता लागेको साउदी पक्षले जनाएको छ ।
साउदी अरब र अमेरिकाले नागरिक आणविक क्षेत्रमा सहकार्यलाई औपचारिकता दिएको केही महिनापछि यो घोषणा भएको हो । जुलाई २२ मा अमेरिकी ऊर्जा सचिव क्रिस राइट र साउदी ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानबीच आणविक सहकार्यसम्बन्धी सम्झौता भएको थियो । अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार उ सम्झौताले दशकौँसम्म चल्ने बहुअरब डलरको साझेदारीका लागि कानुनी आधार तयार गरेको छ । साथै, यसले साउदी अरबको नागरिक आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको पहुँचलाई थप विस्तार गर्नेछ ।
‘मदिनास्थित जबल सयिद परियोजनामा गरिएको अन्वेषण र भूगर्भीय अध्ययनले दुर्लभ माटोका खनिज, विशेषगरी भारी तत्वको उच्च मात्रा रहेको करिब ११ करोड टन अयस्कको अनुमानित स्रोत फेला पारेको छ । यससँगै युरेनियमको पनि सम्भावनायुक्त मात्रा रहेको देखिएको छ,’ अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको महासम्मेलनमा राजकुमार अब्दुलअजिज बिन सलमानले भने ।
साउदी ऊर्जामन्त्रीका अनुसार सन् २०२५ को नोभेम्बरमा युवराज मोहम्मद बिन सलमानले अमेरिकाको भ्रमण गरेपछि महत्वपूर्ण खनिज तथा आपूर्ति शृंखलासम्बन्धी सहकार्यले थप गति लिएको हो । त्यसक्रममा साउदी सरकारी स्वामित्वको खानी कम्पनी मआदेन र अमेरिकी कम्पनी एमपी मटेरियल्सबीचको साझेदारीसहित महत्वपूर्ण खनिज तथा आपूर्ति शृंखलाका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार भयो ।
उक्त भ्रमणपछि महत्वपूर्ण खनिज, धातु र युरेनियमका विषयमा सहकार्य गर्ने रणनीतिक रूपरेखा तयार भएको थियो। त्यसअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले साउदी अरबमा निर्माण हुने नयाँ दुर्लभ माटो प्रशोधन कारखानामा ४९ प्रतिशत लगानी गर्ने सहमति गरेको थियो ।
उक्त परियोजनामा साउदी कम्पनी मआदेनको ५१ प्रतिशत नियन्त्रणकारी हिस्सेदारी रहनेछ । अमेरिकी कम्पनी एमपी मटेरियल्सले हाल अमेरिकामा सञ्चालनमा रहेको एकमात्र दुर्लभ माटो खानी तथा प्रशोधन केन्द्र सञ्चालन गर्दै आएको छ ।