आक्रमण र पाइपलाइन अवरुद्धले बढायो कच्चा तेलको भाउ, कतिमा भइरहेछ कारोबार ?

आप्रवासन आप्रवासन

 

साउदी अरबको ऊर्जा पूर्वाधारमा भएका आक्रमणका कारण इस्ट–वेस्ट पाइपलाइन सञ्चालनमा आउन नसकेपछि मंगलबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।  ऊर्जा पूर्वाधार र तेल ढुवानीका मार्गमा भएको क्षति मर्मत गर्न लामो समय लाग्न सक्ने आशंकाले विश्वव्यापी तेल आपूर्तिबारे चिन्ता बढेको हो ।

 मंगलबार बिहान ८ः१३ बजे जीएमटीमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुड फ्यूचर्सको भाउ २ डलर ५० सेन्टले बढेर प्रतिब्यारेल १०८ डलर १८ सेन्टमा पुगेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २.३७ प्रतिशतले धेरै हो । उता, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) क्रुडको भाउ पनि २ डलर ४६ सेन्टले बढेर प्रतिब्यारेल १०३ डलर ८५ सेन्टमा पुगेको थियो । 

यो पनि अघिल्लो दिन कोमेक्समा कारोबार बन्द हुँदाखेरिको तुलनामा २ दशमलव ४३ प्रतिशत धेरै हो । सोमबार यमनका इरान समर्थित हुथी समूहले साउदी अरबमा नयाँ आक्रमण गरेपछि थप तेल आपूर्तिबारेको चिन्ता बढेको छ । यसैबीच, खाडीका अरब राष्ट्रहरूले इरानसँग गर्ने तय भएको छलफल पनि स्थगित गरेका छन् ।

साउदी अरबलाई लक्षित गर्दै हुथीहरूले गरेका पछिल्ला आक्रमणले द्वन्द्वको गम्भीरता र अवधि कति लामो हुन सक्छ भन्ने विषयमा तेल बजारका लगानीकर्ताको अपेक्षालाई प्रभावित गरिरहेको हुन सक्छ,’ क्यापिटल इकोनोमिक्सका वरिष्ठ जलवायु तथा कमोडिटी अर्थशास्त्री हमाद हुसेनले भने ।

 हुथीहरूले सोमबार दक्षिणी साउदी अरबको खामिस मुशैतस्थित सैन्य हवाई आधारमा दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थिए । उनीहरूका अनुसार विमानका ह्याङ्गर, राडार प्रणाली, धावनमार्ग र हतियार भण्डारणस्थललाई लक्षित गरिएको थियो । यमनमा साउदी अरबले गरेको हवाई आक्रमणको जवाफमा उक्त हमला गरिएको हुथीहरूको भनाइ छ ।

यसअघि शुक्रबार साउदी अरबमा भएको आक्रमणपछि देशको इस्ट–वेस्ट पाइपलाइनमा अवरोध आएको थियो। रियादले उक्त आक्रमणको आरोप इरान समर्थित इराकी लडाकुहरूमाथि लगाएको थियो । इस्ट–वेस्ट पाइपलाइनले अवरुद्ध स्ट्रेट अफ होर्मुजलाई छल्दै साउदी अरबबाट तेल निर्यात गर्न अनुमति दिन्छ । युद्ध सुरु हुनुअघि विश्व बजारमा खपत हुने झन्डै २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यासको आपूर्तिको स्ट्रेट अफ होर्मुज हुँदै जाने गरेको थियो ।

साउदी अरबले इस्ट–वेस्ट पाइपलाइन पुनः सञ्चालन गर्न नसके केही दिनमै निर्यातका लागि उपलब्ध कच्चा तेल सकिन सक्ने खरिदकर्ता र व्यापारीहरूले बताएका छन् । पाइपलाइनमा भएको आक्रमणले विश्वको कुल तेल आपूर्तिको ४ प्रतिशतसम्म प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । ‘पछिल्लो आक्रमण अझ गम्भीर हुन सक्छ र यसले हालै यान्बुबाट भइरहेको दैनिक २० लाख ब्यारेलसम्मको तेल निर्यातलाई समेत जोखिममा पार्न सक्छ,’ गोल्डम्यान स्याक्सले एक नोटमा भनेको छ । पाइपलाइन मर्मत गर्न छिटोमा आठ सातासम्म लाग्ने बताइएको छ ।

तेल पूर्वाधारमाथिका आक्रमणले द्वन्द्वमा महत्वपूर्ण वृद्धि भएको संकेत गरेको र ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरभन्दा माथि जाने सम्भावना बढाएको गोल्डम्यान स्याक्सले भनेको छ । सन् २०२७ मा खाडी क्षेत्रको औसत तेल उत्पादन युद्धअघि रहेको स्तरभन्दा दैनिक ४० लाख ब्यारेल कम रहने अवस्थालाई आधार मानेर कम्पनीले यस्तो अनुमान गरेको हो । यसैबीच, स्ट्रेट अफ होर्मुज हुँदै जाने कमोडिटी बोकेका पानीजहाजको संख्या सोमबार घटेर चारमा झरेको छ । एक दिनअघि यस्तो जहाजको संख्या १० थियो । केप्लरले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार जहाज आवागमनमा उल्लेख्य कमी आएको हो ।

‘तेलको मागमा समायोजन नभए वा स्ट्रेट अफ होर्मुज हुँदै जाने तेलको प्रवाह नबढे, इस्ट–वेस्ट पाइपलाइन केही सातासम्म बन्द रहँदा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलरसम्म पुग्न सक्छ,’ हुसेनले भने । साउदी अरबको इस्ट–वेस्ट पाइपलाइन करिब १ हजार २०० किलोमिटर लामो महत्वपूर्ण तेल ढुवानी मार्ग हो । यसले फारसको खाडी क्षेत्रबाट तेललाई रेड सीमा रहेको यान्बु बन्दरगाहसम्म पुर्‍याएर स्ट्रेट अफ होर्मुजलाई छल्दै निर्यात गर्ने विकल्प प्रदान दिइरहेको छ । पाइपलाइन बन्द हुँदा साउदी अरबको तेल निर्यात क्षमतामाथि सीधा दबाब परेको छ ।