अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको ७०औँ महासम्मेलन अस्ट्रियाको भियनामा सुरु भएको छ । बढ्दो भूराजनीतिक तनावबिच बहुपक्षीय सहकार्य सुदृढ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न सम्मेलनमा आह्वान गरिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सन्देश भियनास्थित संयुक्त राष्ट्रसङ्घ कार्यालयकी महानिर्देशक मोनिका जुमाले सम्मेलनमा प्रस्तुत गरे । गुटेरेसले विश्व अहिले गम्भीर अस्थिरता र अनिश्चितताको अवस्थामा रहेको बताएका छन् ।
उनका अनुसार आणविक प्रतिष्ठानमाथिका आक्रमण बढिरहेका छन्, आणविक हतियार प्रसारलाई बढवा दिने कारणहरू तीव्र हुँदैछन् भने त्यसलाई रोक्ने सुरक्षा संयन्त्र कमजोर हुँदै गएका छन् । उनले आणविक ऊर्जा उत्पादनमा विश्व ठुलो परिवर्तनको सङ्घारमा रहेको उल्लेख गर्दै यसको सावधानीपूर्वक व्यवस्थापन र निगरानी आवश्यक रहेको बताए। उनले यस्तो अवस्थामा आइएइएको व्यावसायिकता, निष्पक्षता र प्राविधिक दक्षताको आवश्यकता अझ बढेको बताए ।
आइएइएका महानिर्देशक राफायल ग्रोसीले सम्मेलनमा आणविक हतियार अप्रसार सन्धि विश्वव्यापी आणविक अप्रसार व्यवस्थाको आधारस्तम्भ रहेको बताए । ग्रोसीले बढ्दो तनाव र अविश्वासको अवस्थामा आइएइएलाई सहयोग गर्दै उक्त कानुनी संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
उनले थप आणविक हतियार र आणविक हतियार भएका थप देश भएको विश्वलाई अझ सुरक्षित विश्वका रूपमा लिन नसकिने बताए । सेप्टेम्बर १८ सम्म चल्ने यस वर्षको महासम्मेलनमा आइएइए सदस्य राष्ट्रका वरिष्ठ अधिकारी तथा प्रतिनिधिसहित अन्तर्राष्ट्रिय र गैरसरकारी संस्थाका प्रतिनिधि गरी करिब ४ हजार जना सहभागी भएका छन् ।
सन् १९५७ मा आइएइए स्थापना भएदेखि हरेक वर्ष आयोजना हुँदै आएको महासम्मेलनमा आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुन्छ । यसमा ऊर्जा उत्पादन, क्यान्सर उपचार, खाद्य सुरक्षा, पानी व्यवस्थापन, आणविक सुरक्षा तथा सुरक्षात्मक उपाय लगायतका विषय समावेश छन् ।