यमनका हुथी विद्रोहीले मक्कातर्फ प्रक्षेपण गरेको ड्रोनलाई साउदी अरबले हवाई प्रतिरक्षा प्रणालीमार्फत बाटोमै रोकेर नष्ट गरेको छ । घटनापछि इस्लाम धर्मको सबैभन्दा पवित्र सहर मक्कामा केही समयका लागि सुरक्षा सतर्कता जारी गरिएको थियो । साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीका अनुसार मङ्गलवार साँझ रोयल साउदी एयर डिफेन्स फोर्सले उक्त ड्रोनलाई मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै रोकेको थियो ।
अल–मलिकीले घटनाको निन्दा गर्दै यसलाई उपासकहरूलाई त्रसित पार्ने र सर्वसाधारणलाई जोखिममा पार्ने प्रयास भएको बताएका छन् । उनले साउदी अरबका दुई पवित्र मस्जिद तथा त्यहाँ आउने तीर्थयात्रीहरूको सुरक्षालाई ‘रेड लाइन’ भन्दै त्यसविरुद्ध हुने कुनै पनि आक्रमणको कडा प्रतिकार गरिने चेतावनी दिएका छन् । तर हुथीहरूले भने मक्कालाई निशाना बनाएको आरोप अस्वीकार गरेका छन् । हुथी समूहले यसअघि पनि आफूहरूले इस्लामका पवित्र स्थललाई निशाना नबनाउने बताउँदै आएको छ ।
मङ्गलवार मक्कामा सम्भावित खतराबारे सुरक्षा सतर्कता जारी गरिएको थियो । सन् २०१७ पछि पहिलो पटक मक्कामा यस्तो सतर्कता जारी गरिएको बताइएको छ । यद्यपि, केही मिनेटमै उक्त सतर्कता हटाइएको थियो। साउदी अरबका ताइफ र जेद्दा सहरमा पनि सोही प्रकारको सुरक्षा सतर्कता सक्रिय गरिएको थियो ।
हुथी सैन्य स्रोतले मङ्गलवार यमनको सरकारी समाचार संस्था एसएबीएमार्फत मक्का वा अन्य कुनै इस्लामिक पवित्र स्थललाई यमनबाट खतरा रहेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । उक्त स्रोतले मक्कातर्फ वा अन्य पवित्र स्थलतर्फ यमनबाट कुनै खतरा नरहेको दाबी गर्दै साउदी पक्षले फैलाएको भनिएको सूचनालाई ‘भ्रामक’ भनेको छ ।
फेरि चर्किँदैछ सन् २०१५ देखि जारी द्वन्द्व
साउदी अरब र हुथी बिचको पछिल्लो तनाव सन् २०१५ देखि जारी यमन द्वन्द्वसँग जोडिएको छ । हुथीहरूले यमनको राजधानी साना कब्जा गर्दै अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई सत्ताबाट हटाएपछि साउदी अरबले यमनमा सैन्य हस्तक्षेप गरेको थियो । सन् २०२२ अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामपछि साउदी भूभागमा हुथी आक्रमणहरू ठुलो मात्रामा रोकिएका थिए । तर पछिल्लो समय दुई पक्षबिच पुनः तनाव बढेको छ ।
जुलाईमा हुथीहरूले साउदी पानी जहाजमाथि नाकाबन्दी घोषणा गरेपछि तथा बाब अल–मन्देब तटीय क्षेत्रमा रणनीतिक स्थानहरूमा आफ्नो नियन्त्रण विस्तार गरेपछि द्वन्द्व थप चर्किएको बताइएको छ । सेप्टेम्बरको सुरुदेखि इरानसँग नजिक मानिने हुथी समूहले साउदी अरबका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ । साउदी अधिकारीहरूलेहुथी विद्रोहीमाथि देशका नागरिक तथा आर्थिक संरचनालाई निशाना बनाएको आरोप लगाएका छन् । मङ्गलवार साउदी सहर खामिस मुशैत, अब्हा र ताइफमा भएका हुथी आक्रमणमा १३ जना घाइते भएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ ।