एसिया र एसिया प्रशान्त क्षेत्रका कानुन व्यवसायीहरूको संगठन ‘ल एसिया’ को ३९औँ अन्तर्राष्ट्रिय सम्मेलन अहिले जारी छ । भाद्र २९ गतेदेखि दक्षिण कोरियाको राजधानी सियोलमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
३०भन्दा बढी देशका ६०० कानुन व्यवसायीहरूको छाता संगठनको आयोजनामा भएको साे सम्मेलनको उद्घाटन समारोहमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्यङ्गसहित सर्वोच्च अदालतका प्रधानन्यायाधीश, संवैधानिक अदालतका प्रधानन्यायाधीश, संयुक्त राष्ट्रसङ्घ का पूर्वमहासचिव बानकी मुन, द कोरिया बार एसोसिएसनका अध्यक्ष तथा ल एसियाका अध्यक्षले सम्बोधन गरेका थिए ।
सम्मेलनको महासभा बैठकले २०२६–२७ को कार्यसमिति लागि भएको निर्वाचनमा नेपालका तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरे निर्वाचित भएका छन् । १ वर्षे कार्यकाल रहने कार्यसमितिमा अधिवक्ता घिमिरे लगातार चौथो पटक निर्वाचित भएका हुन् । भदौ २८ गते भएको ल एसियाको कार्यसमिति बैठकमा कार्यसमिति सदस्य घिमिरेले नेपालमा हालै आएको भोटेकोसीको बाढीका सम्बन्धमा आफ्नो भनाइ राखेका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालमा मात्र नभई यसको असर संसारभर पुग्ने दाबी गरे । उनले विकसित र औद्योगिक राष्ट्रको जलवायु परिवर्तनमा महत्त्व पूर्ण हात रहेको बताउँदै उक्त बाढीबाट भएको विनाशको क्षतिपूर्ति भरणका लागि ल एसियाका सदस्य राष्ट्र सँग अनुरोध समेत गरे।
ल एसिया कार्यसमिति ले बाढीबाट ज्यान गुमाएका नेपाल र विदेशी नागरिकको स्मरणमा १ मिनेट मौन धारण समेत गरेको थियो । ल एसियाका महासभा सदस्य अर्थात् नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रले नेपालको वार्षिक विवरण प्रस्तुत गर्ने क्रममा नेपाल बारले कानुनी शासन, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाका विषयमा आफ्नो अटल र अविचलित अडान राखेको र न्यायपालिकाको स्वतन्त्रतामा नेपाल बारले सहयोग गर्न कुनै कसुर नराख्ने बताए । साथै हालै रसुवामा आएको बाढीले ल्याएको विनाशप्रति ल एसिया मार्फत जलवायु न्यायका लागि आवाज उठाउनुपर्नेमा उनले जोड दिए ।
उक्त महासभामा ल एसियाका अध्यक्ष टी एल यापले नेपालमा भएको बाढीका कारण भएको क्षतिलाई विशेष प्राथमिकता दिँदै ल एसियाले सहयोग रकम जुटाउन सहयोग गर्ने बताए । उक्त सम्मेलन भदौ ३१ गतेसम्म चल्ने छ । उक्त सम्मेलनमा मुक्ति प्रधान, सरोजकृष्ण घिमिरे , रेशमराज रेग्मी, बाबुराम अर्याल र उमा तामाङले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
ल एसियाका नवनिर्वाचित कार्यसमिति सदस्य घिमिरेले सन् २०२७ को ल एसिया अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने जानकारी दिएका छन् । उक्त सम्मेलनमा संसारभरका ५०० भन्दा बढी कानुन व्यवसायी उपस्थित हुनुका साथै सहभागीहरूले जलवायु परिवर्तन, कानुनी शासन, मानवअधिकार, आदिवासीका अधिकार, स्वतन्त्र न्यायपालिका, कानुन व्यवसायीको संरक्षण र व्यावसायिक दायित्व लगायत विविध विषयमा अन्तर्राष्ट्रिय स्तरका कानुन व्यवसायी र प्राध्यापकहरूले कार्यपत्र प्रस्तुत गर्ने समेत जानकारी घिमिरेले दिए । नेपालमा हुने उक्त सम्मेलनको आधिकारिक घोषणा सम्मेलनको समापन समारोहमा हुने समेत उनले बताए । उक्त सम्मेलनमा नेपालबाट २१ जना कानुन व्यवसायीको सहभागिता रहेको थियो ।