अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाजबीच ठोक्किएपछि भारतले पाकिस्तानसँग औपचारिक रुपमा विरोध जनाएको छ । भारतको विदेश मन्त्रालयले बुधबार नयाँदिल्लीस्थित पाकिस्तानी उच्चायोगका ‘चार्ज डी अफेयर्स’लाई बोलाएर पाकिस्तानी नौसैनिक जहाजको गतिविधिलाई ‘अस्वीकार्य र गैरव्यावसायिक’ भन्दै कडा विरोध जनाएको हो ।
घटना सेप्टेम्बर १५ को साँझ उत्तरी अरब सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको भारतीय पक्षले जनाएको छ । भारतीय स्रोतका अनुसार नियमित निगरानी अभियानमा रहेको भारतीय नौसेनाको अग्रपंक्तिको युद्धपोतनजिक पाकिस्तानी नौसेनाको जहाज तीव्र गतिमा गएको थियो । त्यस क्रममा पाकिस्तानी जहाजले असुरक्षित र लापरवाहीपूर्वक दिशा परिवर्तन गर्दा दुई जहाजबीच ठक्कर भएको थियो ।
यद्यपि, घटनाबाट ठूलो क्षति नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार घटना अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको थियो । भारतले पाकिस्तानी जहाजको गतिविधि सन् १९९१ मा भारत र पाकिस्तानबिच भएको ‘सैन्य अभ्यास, सैन्य चालचलन तथा सैनिक आवागमनबारे अग्रिम सूचना दिने सम्झौता’ को धारा १० को प्रत्यक्ष उल्लंघन भएको जनाएको छ ।
विदेश मन्त्रालयले पाकिस्तानी कूटनीतिज्ञमार्फत सम्बन्धित अधिकारीलाई समुद्रमा तैनाथ सबै सैन्य एकाइले आवश्यक सावधानी अपनाउन र दुई देशबीच भएका सम्बन्धित सम्झौताको पालना गर्न आग्रह गरेको छ । यस्ता घटना दोहोरिन नदिन सैन्य गतिविधिमा थप सतर्कता अपनाउन पनि भारतले जोड दिएको छ । भारतले इस्लामाबादस्थित आफ्ना ‘चार्ज डी अफेयर्स’लाई पनि पाकिस्तानको विदेश मन्त्रालयसमक्ष यस्तै औपचारिक विरोध दर्ता गराउन निर्देशन दिएको छ ।
भारत र पाकिस्तानबीच पछिल्ला वर्षहरूमा सुरक्षा तथा सैन्य विषयमा तनाव रहँदै आएको अवस्थामा अरब सागरमा भएको यो घटना दुई देशका नौसैनिक गतिविधिबीचको जोखिमतर्फ पनि ध्यानाकर्षण गराएको छ । सन् २०११ मा पनि भारतीय नौसैनिक जहाज आईएनएस गोदावरी र पाकिस्तानी जहाज पीएनएस बाबरबीच यस्तै विवाद उत्पन्न भएको थियो, जहाँ दुवै पक्षले एकअर्कामाथि असुरक्षित गतिविधि गरेको आरोप लगाएका थिए ।
हालको घटनामा भने भारतले पाकिस्तानी जहाजको गतिविधिलाई सम्झौताको धारा १० विपरीत भएको भन्दै कूटनीतिक माध्यमबाट विरोध जनाएको हो।