गाजा सहरमा विस्थापित प्यालेस्टाइनी परिवार बसिरहेको क्षतिग्रस्त भवन भत्किँदा बुधबार कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। यसैबिच, साउदी अरबले पवित्र सहर मक्कातर्फ अघि बढिरहेको एउटा ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको छ।
गाजा सहरमा विस्थापित करिब ६ परिवार बसोबास गरिरहेको भवन भत्किँदा १९ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जाहेर अल–वाहिदीले बताएका छन् । मृतकमध्ये कम्तीमा आठ बालबालिका र पाँच महिला छन्। भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धारकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ।
युद्धको सुरुवाती चरणमा इजरायली आक्रमणबाट भवन आंशिक रूपमा क्षतिग्रस्त भएको थियो। भवन भत्किनुको कारण भने तत्काल स्पष्ट भएको छैन। युद्धका कारण गाजाका अधिकांश भवन क्षतिग्रस्त वा नष्ट भएकाले विस्थापित परिवार त्यस्ता भवनमा फर्किनु जोखिमपूर्ण बनेको छ।