लन्डन जाँदै गरेको बङ्गलादेश एयरलाइन्सभित्रै कुटाकुट

आप्रवासन आप्रवासन

 

विमान बङ्गलादेश एयरलाइन्सको उडानमा दुई यात्रुबिच कुटाकुट भएको छ । १७ सेप्टेम्बर २०२६ मा बङ्गलादेशको सिलेटबाट लन्डनतर्फ उडिरहेको विमानमा सुरुमा दुई यात्रुबिच भनाभन भएको र त्यसपछि उनीहरू एक–अर्कामाथि लात्ती र मुक्का प्रहार गर्न थालेका थिए ।

घटनाका कारण विमानभित्र केही समय होहल्ला मच्चिएको थियो । अन्य यात्रुले झगडा रोक्ने प्रयास गरे पनि दुबैबिच कुटाकुट जारी रहेको बताइएको छ । घटनाका क्रममा एक यात्रुको टी–सर्ट च्यातिएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा यात्रुहरूबिच कुटाकुट भइरहेको र अन्य यात्रुले छुट्याउने प्रयास गरिरहेको देखिन्छ ।

घटनाबारे विमान बङ्गलादेश एयरलाइन्सका महाप्रबन्धक महबुबुद्दिन अहमदले आफूलाई तत्काल जानकारी नभएको बताएका छन् । उनले घटनाबारे बुझ्ने बताएका छन् । बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार घटनाबारे थप विवरण तथा झगडाको कारण भने खुलाइएको छैन ।