नौ महिलाको हत्यापछि दक्षिण अफ्रिकामा देशव्यापी आक्रोश चर्किँदै

आप्रवासन आप्रवासन

 

दक्षिण अफ्रिकामा जोहानेसबर्ग नजिकै नौ महिलाको शव फेला परेपछि महिला हिंसाविरुद्ध देशव्यापी आक्रोश फेरि चर्किएको छ । पछिल्ला दिनमा विभिन्न सहरमा मानिसहरूले स्मृति दौड, जागरण तथा विरोध प्रदर्शन गर्दै महिलामाथि हुने हिंसा रोक्न सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन् ।

पछिल्लो दुई महिनामा जोहानेसबर्गको पूर्वी क्षेत्रमा पर्ने एकुरहुलेनीमा प्रहरीले नौ महिलाको शव फेला पारेको हो । यी हत्याहरूबिच कुनै सम्बन्ध छ कि छैन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

मृतकमध्ये अधिकांश २० र ३० वर्ष उमेर समूहका रहेको बताइएको छ । केही महिलाको शव कपडाविहीन अवस्थामा भेटिएको र उनीहरूमाथि यौन हिंसा भएको संकेत देखिएको प्रहरीले जनाएको छ ।

मृतकको सम्झनामा दौड

शनिबार जोहानेसबर्गमा आयोजित स्मृति दौडमा नौमध्येकी एक एलिजाबेथ मोसेलाक्गोमोलाई सम्झिएको थियो । उनी दौडन निस्किएपछि बेपत्ता भएकी थिइन् र केही दिनपछि मृत अवस्थामा फेला परेकी थिइन् ।

दौडमा सहभागीहरूले मैनबत्ती बाल्नुका साथै ‘ईनफ, स्टप फेमिसाइड’ अर्थात् ‘अब पुग्यो, महिला–हत्या रोक’ लेखिएको ब्यानर बोकेका थिए । धेरै सहभागीले महिलामाथि हुने हिंसाविरुद्ध ऐक्यबद्धता जनाउँदै कालो कपडा लगाएका थिए ।

दौडमा सहभागी लिराटो लेन्टसेलाले आफूहरू एक महिला धावक गुमाएकै कारण सडकमा आएको भए पनि महिलाहरू कुनै ठाउँमा सुरक्षित नरहेको बताइन् । उनका अनुसार महिला दौडिँदा, हुलाक कार्यालयमा जाँदा, कसैसँग भेटघाटमा रहँदा, घरमा बस्दा वा गाडीमा यात्रा गर्दा समेत जोखिम महसुस गर्नुपर्ने अवस्था छ ।

‘अब अति भयो’

महिलामाथि हुने हिंसाविरुद्ध काम गर्दै आएको उयिनिने म्र्वेत्याना फाउन्डेसनले पनि घटनाप्रति आक्रोश व्यक्त गरेको छ । फाउन्डेसनले दक्षिण अफ्रिकी महिलाले डरबिना बाँच्न, हिँड्न, दौडन र आफ्नो दैनिक जीवन बिताउन पाउनुपर्ने भन्दै हिंसा अन्त्य गर्न माग गरेको छ ।

गत वर्ष दक्षिण अफ्रिकामा लैंगिक हिंसालाई राष्ट्रिय विपद्का रूपमा घोषणा गरिएको थियो । तर त्यसयता सरकारी प्रतिबद्धता र बढ्दो सार्वजनिक ध्यानका बाबजुद पनि धेरै महिलाले आफूहरू अझै सुरक्षित महसुस गर्न नसकेको बताएका छन् ।

राष्ट्रपतिको प्रतिबद्धता

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार महिलामाथिको यस्तो हिंसालाई सामान्य अवस्थाका रूपमा स्वीकार गर्न नसकिने बताएका थिए । उनले नौ महिलाको हत्याको अनुसन्धानमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाएका छन् ।

तर देशको प्रहरी प्रणालीमा भ्रष्टाचार र स्रोतसाधनको अभाव रहेको भन्दै प्रभावकारितामाथि प्रश्न उठ्दै आएको छ । विभिन्न श्रोत अनुसार दक्षिण अफ्रिकामा भएका हत्याका केसमध्ये करिब १० प्रतिशत मात्र समाधान हुने गरेका छन् ।

केप टाउनमा शुक्रबार स्मृति कार्यक्रम आयोजना गरेको वुमन फर चेन्जकी मर्लिज जोगियाटले प्रहरी व्यवस्थाको पुनरावलोकन आवश्यक रहेको बताइन् । उनका अनुसार घटनास्थल आसपास प्रहरीको उपस्थिति बढेपछि मात्र तीमध्येका महिलाको शव फेला परेको थियो र यस्तै समस्या देशभर रहेको उनको भनाइ छ ।

महिलालाई नै सावधानी अपनाउन आग्रहप्रति आलोचना

घटनापछि प्रहरीले एक्लै हिँड्दा वा व्यायाम गर्दा थप सावधानी अपनाउन महिलालाई दिएको सुझावको पनि आलोचना भएको छ । महिला अधिकार अभियन्ताहरूले सुरक्षाको सम्पूर्ण जिम्मेवारी महिलामाथि थोपर्नुभन्दा हिंसा गर्ने व्यक्तिमाथि प्रभावकारी अनुसन्धान र कानुनी कारबाही आवश्यक रहेको बताएका छन् ।

नौ महिलाको हत्यापछि उठेको विरोधले दक्षिण अफ्रिकामा लैंगिक हिंसा र महिलाको सुरक्षाको प्रश्नलाई फेरि राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ । महिलाहरूले आफ्नो दैनिक जीवन डर र असुरक्षाबीच बिताउनुपर्ने अवस्था अन्त्य गर्न सरकारको प्रतिबद्धता व्यवहारमै देखिनुपर्छ भन्ने प्रदर्शनकारीहरूको माग छ ।