उत्तर कोरियाले संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जापानले सुरक्षा तथा निगरानी व्यवस्था कडा बनाएको छ। क्षेप्यास्त्र प्रक्षेपणपछि जापानी प्रधानमन्त्री सनाए ताकाइचीले सम्बन्धित अधिकारीहरूलाई घटनाक्रममाथि निरन्तर निगरानी राख्न र आवश्यक जानकारी तत्काल संकलन तथा विश्लेषण गर्न निर्देशन दिएकी छन्। समाचार श्रोतका अनुसार, आइतबार ३ बजेबजेको स्थानयि समयमा उत्तर कोरियाले दुई क्षप्यास्त्र जापानी समुन्द्रतर्फ प्रहार गरेको हो ।
प्रधानमन्त्री ताकाइचीले क्षेप्यास्त्र प्रक्षेपणसँग सम्बन्धित उपलब्ध सबै सूचना संकलन गरी त्यसको छिटो विश्लेषण गर्न निर्देशन दिएको जापानी सरकारलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्। साथै, जनतालाई आवश्यक परेमा सही र समयमै सूचना उपलब्ध गराउन पनि अधिकारीहरूलाई भनिएको छ। जापान सरकारले क्षेप्यास्त्र प्रक्षेपणबाट विमान तथा समुद्री जहाजलगायत अन्य सम्बन्धित संरचना र सम्पत्तिमा पर्न सक्ने जोखिमबारे विशेष ध्यान दिन निर्देशन दिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन पनि अधिकारीहरूलाई भनिएको छ।
प्रधानमन्त्री ताकाइचीले कुनै पनि आकस्मिक परिस्थितिका लागि तयारी अवस्थामा रहन र परिस्थितिमा हुने परिवर्तनबारे निरन्तर निगरानी गर्न निर्देशन दिएकी छन्। सरकारले आवश्यक परेमा थप सुरक्षा उपाय सक्रिय गर्ने तयारी गरेको छ। उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर जापान, दक्षिण कोरिया र अमेरिकाले लामो समयदेखि निगरानी गर्दै आएका छन्। उत्तर कोरियाबाट हुने हरेक प्रक्षेपणपछि यी देशका सुरक्षा निकायहरूले क्षेप्यास्त्रको प्रक्षेपणस्थल, उडानको दिशा, सम्भावित अवतरण क्षेत्र तथा त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको विश्लेषण गर्ने गर्छन्। हाल जापान सरकारको मुख्य प्राथमिकता प्रक्षेपणसम्बन्धी तथ्यहरू पुष्टि गर्ने, प्राप्त सूचनाको विश्लेषण गर्ने र सम्भावित आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहनु रहेको छ।