शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ अघि बढेपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द भएको छ। आँधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै जापान मौसम विज्ञान निकायले केही क्षेत्रमा कीर्तिमानी वर्षा हुनसक्ने जनाएको छ।
आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटरसम्म पुगेको छ। टोकियोनजिकै पर्ने चिबा क्षेत्रका ४ हजारभन्दा बढी घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम उच्च रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
हवाई सेवाअन्तर्गत जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ। अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान स्थगित गरेको छ। यसका साथै टोकियो तथा आसपासका क्षेत्रमा चल्ने केही रेल सेवासमेत प्रभावित भएका छन्। आँधीकै कारण ‘टोकियो गेम शो’को अन्तिम दिनको कार्यक्रम रद्द गरिएको छ। चिबामा आयोजना हुने तय भएको सांगीतिक महोत्सव र बेसबल खेलसमेत स्थगित भएको छ।