बाढीपीडितको उद्धारमा जुटे खान सर, भिडियो भाइरल

आप्रवासन आप्रवासन

भारतका चर्चित शिक्षक खान सर एक पटक फेरि चर्चामा आएका छन् । केही समयअघिको विवादित घटनापछि अहिले खान सर बाढीपीडितहरूको सेवामा सक्रिय देखिएका छन् । उनी बाढी प्रभावित क्षेत्रमा आफैं पुगेर राहत सामग्री वितरण गरिरहेका छन् । 

खान सरको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी डुङ्गामा बसेर बाढीपीडितहरूलाई सहयोग गरिरहेको देखिन्छन् । उनको हातमा वाकीटकी छ, जसको माध्यमबाट उनी अन्य राहत टोलीलाई निर्देशन दिइरहेका देखिन्छन् । भिडियोमा उनले भनेका छन्, 'अब आजलाई राहत वितरण कार्य स्थगित गरौं, रात परिसकेको छ । रातको समयमा यहाँका साना बालबालिकाहरू पानीमा हाम फाल्न सक्छन्, जुन असुरक्षित हुन्छ । सबै डुङ्गा बेस स्टेसनमा फर्कनुहोस् ।' उनी बाढीपीडितहरूका लागि खानेकुरा, औषधिलगायत अत्यावश्यक सामग्री बोकेर गाउँ–गाउँ पुगिरहेका छन् । 

खान सरको यो मानवीय कार्यको सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । एक एक्स प्रयोगकर्ताले भिडियो पोस्ट गर्दै लेखेका छन्, 'यो मान्छे कुन माटोले बनेको छ ? मानिसहरूले उनको धर्म र चरित्रमाथि प्रश्न उठाए, तर उनले कुनै प्रतिवाद नगरी बिहारका गरिबहरूका लागि अस्पताल, ब्लड बैंक र निःशुल्क शिक्षाको व्यवस्था गर्दै आएका छन् । आज उनको काम देखेर यति भन्न सकिन्छ कि मानिसको असली पहिचान उसको कर्मले हुन्छ ।' 

सार्वजनिक भएका अन्य भिडियोहरूमा खान सर पसिनाले भिजेको अवस्थामा देखिएका छन् । राहत सामग्री बोक्दाबोक्दै उनी थाकेर राहत सामग्रीकै बोरामाथि सुतिरहेको दृश्य पनि कैद भएको छ । 

यद्यपि, उनको यस कार्यलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । कसैले उनको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् भने कसैले यसलाई लिएर आलोचनात्मक टिप्पणी पनि गरिरहेका छन् । जे भए पनि बाढीको विपत्तिमा परेका मानिसहरूका लागि खान सरको यो पहललाई धेरैले प्रेरणादायी भनेका छन् ।