महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

आप्रवासन आप्रवासन

 

विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त रूपमा तयार नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअघि उहाँले महामारीसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्न विश्व नेताहरूलाई आग्रह गरे ।

सामाजिक सञ्जाल एक्समार्फत सोमबार सन्देश दिँदै उनले महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि प्रतिबद्धता नवीकरण गर्नुपर्ने बताए ।  “राजनीतिक घोषणा स्पष्ट छ—विश्व अपर्याप्त रूपमा तयार छ”, उनले भने । महामारी सम्झौताअन्तर्गत रोगजनकमा पहुँच तथा त्यसबाट प्राप्त लाभ बाँडफाँटसम्बन्धी अनुसूची पूरा गर्नुपर्नेमा पनि उनले जोड दिए ।

संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत २२ देखि २८ सेप्टेम्बरसम्म आम बहस हुँदैछ । महासभाको ८१औँ सत्रको विषय ‘विश्वास पुनःस्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि उपलब्धि सुनिश्चित गर्ने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । बङ्गलादेशका खलिलुर रहमानले सत्रको अध्यक्षता गरिरहेका छन् ।उच्चस्तरीय सप्ताहमा महामारीसँगै विश्वव्यापी द्वन्द्व, विकास, जलवायु परिवर्तन र मानवीय चुनौतीबारे छलफल हुनेछ । सेप्टेम्बर २५ मा महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठक आयोजना हुँदैछ ।