अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

आप्रवासन आप्रवासन

इरानको रिभोलुसनरी गाड्र्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा नयाँ लक्ष्यमा प्रहार गर्ने तथा नयाँ हतियार तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ ।

युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङ्टनबीच गतिरोध कायमै छ । यद्यपि कुनै पनि पक्ष पूर्णस्तरको युद्धमा फर्कन इच्छुक देखिँदैनन् । इरानी सेनाको वैचारिक अङ्ग मानिने इस्लामिक रिभोलुसनरी गाड्र्स कोर्प्सका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने, “अमेरिकाबाट नयाँ आक्रमण भएमा हाम्रो प्रतिरक्षा र जवाफी कारबाहीमा पक्कै पनि महत्त्वपूर्ण परिवर्तनहरू हुनेछन् ।”

“हामी युद्धभूमिमा नयाँ क्षमता भएका थप हतियारहरू भित्राउनेछौँ र यसले विश्वलाई चकित पार्नेछ,” उनले थपे । आफ्ना लक्ष्यहरू पनि पहिले जस्तै नहुने बताउँदै गाड्र्सले आफूसँग अहिलेसम्म आक्रमण नगरिएका नयाँ लक्ष्यहरू रहेको र आफूहरू दीर्घकालीन युद्धका लागिसमेत तयार रहेको जनाएको छ ।

सरकारी टेलिभिजनका अनुसार शनिबार इरानी सेनाको केन्द्रीय कमाण्डले अमेरिकाले तेहरानविरुद्ध नयाँ कारबाहीको योजना बनाइरहेको बताएको थियो । तर यसको विस्तृत विवरण भने दिइएको थिएन । गत महिनाको अन्त्यमा तनाव बढेपछि हालका दिनहरूमा अमेरिका र इरानबीचको लडाइँ केही मत्थर भएको छ । यद्यपि तेहरानले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमाथि छिटपुट आक्रमणहरू जारी राखेको छ ।

दुवै पक्षले दबाब सिर्जना गर्ने प्रयासमा उक्त जलमार्गमा एकअर्काविरुद्ध नाकाबन्दी कायम राखेका छन् । हाल युद्ध यमनसम्म फैलिएको छ । त्यहाँ इरान–समर्थित हुथी विद्रोहीहरूले साउदी–समर्थित सरकारबाट थप भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् भने राजधानी रियाद लगायत साउदीका विभिन्न लक्ष्यमा आक्रमणहरू गरिरहेका छन् ।