जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्।
सोमबार कान्तो क्षेत्रमा भएको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार चिबा प्रिफेक्चरमा मात्रै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
मृतकमध्ये ५० वर्ष आसपासका एक पुरुषको पहिरोबाट थुप्रिएको माटो तथा भग्नावशेष हटाउन भारी मेसिन चलाइरहेका बेला बाँसघारीमा खसेर मृत्यु भएको बताइएको छ। त्यस्तै डुबेको एउटा सवारीसाधनभित्र अर्का एक पुरुषको शव फेला परेको छ। कानागावा प्रिफेक्चरमा पनि ३ जनाको मृत्यु भएको छ। त्यहाँ घरमा पहिरो खसेर माटोले पुरिँदा ६० वर्ष आसपासकी एक महिलाको ज्यान गएको जनाइएको छ। बेपत्ता रहेकाहरूको खोजी तथा उद्धारका लागि प्रहरी र अग्निनियन्त्रकहरूले अभियान निरन्तर जारी राखेका छन्।
टाइफुन डुजुआन सोमबार जापानको पूर्वी प्रशान्त तटीय क्षेत्रमा पुगेपछि कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएको थियो। भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीहरूमा बाढी आउँदा टोकियो आसपासका क्षेत्र नराम्ररी प्रभावित भएका छन्। हालसम्म चिबा, कानागावा र इबाराकी प्रिफेक्चरमा ५०० भन्दा बढी भवन ध्वस्त, क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन्। साथै बुधबार बिहान ६ बजेअघिसम्म प्राप्त विवरणअनुसार चिबा र कानागावा प्रिफेक्चरका २४ हजार ७०० भन्दा बढी घरपरिवार विद्युतविहीन बनेका छन्।