हिमालय एअरलाइन्स‍्को फेरि काठमाडौँ–सांघाई सिधा उडान

आप्रवासन आप्रवासन

 हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ नियमित सिधा उडान पुनः सुरु गर्ने भएको छ । एअरलाइन्स्ले आगामी सोमबार अर्थात् सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित उडान सुरु गर्न लागेको हो ।

उडान पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स् काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बन्ने जनाएको छ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी सहर सांघाईबीच हवाई सम्पर्क पुनःस्थापित हुनेछ । एअरलाइन्स्का अनुसार प्रारम्भिक चरणमा यो रुटमा सातामा दुई उडान सञ्चालन हुनेछ । काठमाडौँबाट सांघाईका लागि हरेक सोमबार र शुक्रबार उडान हुनेछ भने सांघाईबाट काठमाडौँ फर्कने उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ ।

यात्रुको माग र उडानको यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने एअरलाइन्स्ले जनाएको छ । एअरलाइन्स्ले काठमाडौँ–सांघाई सिधा उडानले नेपाल र चीनबीच पर्यटन, व्यापार तथा जनस्तरको सम्पर्कलाई थप विस्तार गर्ने अपेक्षा गरेको छ । मुख्य पर्यटन सिजनको सुरुवातसँगै उडान पुनः सञ्चालन हुन लागेकाले चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा पर्यटन र आतिथ्य क्षेत्रलाई सहयोग पुग्ने एअरलाइन्स्को भनाइ छ ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित उडान पुनः सञ्चालनले नेपाल र चीनबीचको सम्बन्ध, पर्यटन तथा व्यापार प्रवर्द्धनमा योगदान पुग्ने बताए । उनका अनुसार एअरलाइन्स्ले चीनमा नयाँ गन्तव्य खोज्दै नियमित उडान विस्तार गर्दै आएको छ । सांघाई उडानमार्फत यात्रुलाई सुरक्षित र सहज सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले बताए ।

काठमाडौँ–सांघाई उडानका लागि यात्रुले हिमालय एअरलाइन्स्का टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन् । हिमालय एअरलाइन्स् नेपाल–चीन संयुक्त साझेदारीमा सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । एअरलाइन्स्सँग हाल चारवटा विमान रहेका छन् । तीनवटा एयरबस ३२०–२१४ र एउटा एयरबस ३१९–११५ विमानबाट एअरलाइन्स्ले मध्यपूर्व, दक्षिण एसिया र चीनका विभिन्न गन्तव्यमा यात्रुवाहक उडान सञ्चालन गर्दै आएको छ ।