अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेको सात महिनापछि इरानी राष्ट्रपतिले न्युयोर्कको मञ्चमा उभिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इस्लामिक गणतन्त्र ‘झुक्नेछैन’ भनेर सन्देश दिएका छन्।
आफ्नो देशले सबैभन्दा गम्भीर अस्तित्वको युद्ध सामना गरिरहँदा र ट्रम्पको ‘विनाश’ को धम्की तथा देशभित्र बढ्दो आर्थिक दबाबबिच राष्ट्रपति मसुद पेजेस्कियनले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित विश्व नेताहरूलाई सम्बोधन गरेका हुन्।
उनले इरान आफ्नो आणविक कार्यक्रम, क्षेप्यास्त्र प्रतिरक्षा वा विश्वको पाँचौँ भाग तेल बग्ने महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रणबाट पछि नहट्ने प्रस्ट पारे। पेजेस्कियनले भने, ‘हामी कसैलाई पनि जलमार्गमा स्वतन्त्र पहुँच बनाएर आफ्नो स्वार्थ पूरा गर्न दिन सक्दैनौँ। साथै, त्यही जलमार्ग प्रयोग गरेर हामीमाथि आक्रमण लाद्ने, असुरक्षा बढाउने र आफ्नै जलमार्गमा हाम्रो पहुँच रोक्ने कार्यलाई पनि हामी स्वीकार गर्न सक्दैनौँ।’
इरानी राष्ट्रपतिले युद्धमार्फत इस्लामिक गणतन्त्रलाई हराउन खोजिरहेका ट्रम्पलाई तेहरानको माग र इरानको मुख्य सन्देश दिन विश्व मञ्चको प्रयोग गरे। ट्रम्पले अमेरिकाले इरानका आणविक स्थलहरू ‘उडाएको’ दाबी गर्दै स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण रहेको बताउँदै आएका छन्।
मंगलबार सोही मञ्चबाट ट्रम्पले आफू ‘इस्लामिक गणतन्त्रलाई नष्ट गर्ने’ र यसलाई ‘नर्कमा’ धकेल्ने विषयमा विचार गरिरहेको बताएका थिए। ट्रम्पको उक्त भनाइपछि पेजेस्कियनले न्युयोर्क जानुअघि तयार पारेको आफ्नो भाषण पुनः लेख्नुपरेको बताए। उनले जवाफमा दिएको उक्त भाषणले इरानी सञ्चारमाध्यम र कट्टरपन्थी प्रकाशनहरूबाट समेत लगभग सर्वसम्मत प्रशंसा पाएको छ।
पेजेस्कियनको मुख्य सन्देशमध्ये एकले इस्लामिक गणतन्त्र युद्धपछिको क्षेत्रीय अडान कसरी तय गर्न चाहन्छ भन्ने झल्को दिएको छ।
पेजेस्कियनको सम्बोधन यस वर्षको संयुक्त राष्ट्रसंघको भेलामा सबैभन्दा धेरै प्रतीक्षा गरिएको भाषणमध्ये एक थियो। अमेरिकी भूमिमा यो भाषण दिनु एउटा दुर्लभ ऐतिहासिक क्षण पनि थियो, जहाँ आफ्नो देशसँग अझै युद्धरत शत्रु देशको भूमिमा उभिएर एक विदेशी नेताले आफ्नो धारणा राखिरहेका थिए।
लडाइँ छोटो हुने वासिङ्टनको प्रारम्भिक अनुमानविपरीत इरानमाथिको अमेरिकी-इजरायली युद्ध लम्बिएको छ। इस्लामिक गणतन्त्रका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याबाट सुरु भएको सैन्य कारबाही महिनौँ लामो क्षेत्रीय अस्थिरतामा परिणत भएको छ। यसले ट्रम्पको राष्ट्रपतीय कार्यकालको एउटा प्रमुख विदेश नीति विरासतको रूप लिएको छ।
पेजेस्कियनको मुख्य सन्देशमध्ये एकले इस्लामिक गणतन्त्र युद्धपछिको क्षेत्रीय अडान कसरी तय गर्न चाहन्छ भन्ने झल्को दिएको छ। उनले इरानका छिमेकीहरूलाई आफ्नो भविष्यको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नत्र सम्पूर्ण क्षेत्रले ‘सँगै असुरक्षामा बाँच्नुपर्ने’ चेतावनी दिएका छन्।
एक विशेषज्ञका अनुसार यस सन्देशमा एउटा घुमाउरो धम्की लुकेको थियो। लन्डनस्थित च्याथम हाउस थिङ्क ट्याङ्कको मध्यपूर्व र उत्तर अफ्रिका कार्यक्रमका निर्देशक सनम वकिलले सिएनएनसँग भनेका छन्, ‘इरानले क्षेत्रीय सुरक्षालाई अविभाज्य रूपमा प्रस्तुत गरिरहेको थियो। निरन्तरको दबाब र द्वन्द्वले सम्पूर्ण क्षेत्रलाई नै मूल्य चुकाउन बाध्य पार्ने सन्देश इरानले दिएको छ।’
तर इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक हमिदरेजा अजिजीका अनुसार यो सन्देशले इरानलाई बाँकी क्षेत्रसँग मिलेर बस्ने बाटो खोज्नुपर्छ भन्ने थाहा भएको पनि सङ्केत गर्छ।
अजिजीले भने, ‘अन्ततः इरानले आफ्ना छिमेकीहरूसँग शान्तिपूर्ण सहअस्तित्वका लागि कुनै सम्झौता खोज्नुपर्नेछ भन्ने बुझाइ यसले प्रतिबिम्बित गर्छ।’
इरानी विदेशमन्त्री अब्बास अराघचीले न्युयोर्कमा ट्रम्पका शान्ति दूत स्टिभ विटकफसँग कम्तीमा दुई घण्टा वार्ता गरेको भोलिपल्ट पेजेस्कियनले राष्ट्रसंघमा भाषण दिएका हुन्। तीन महिनाअघि भएको एक असफल सम्झौतायता यी दुई राष्ट्रबिच कूटनीतिको यो पहिलो सङ्केत हो।
पेजेस्कियनको भनाइपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ती वार्ताहरूबाट कुनै ठूलो उपलब्धि हासिल नभएको बताए। उनले यस वर्षको सुरुमा भएको समझदारी पत्र (एमओयू) अब कार्यान्वयन हुने सम्भावना नरहेको सङ्केत गरे।
गत जुनमा इरान र अमेरिकाबिच थप वार्ता गर्ने योजना कहिल्यै सफल भएन। यसको सट्टा द्वन्द्व झन् चर्कियो। युद्ध कसरी अन्त्य होला भन्ने अनिश्चिततामा यो क्षेत्र झन् गहिरो रूपमा फस्दै गयो। देशभित्र पेजेस्कियन र वासिङ्टनसँग कूटनीतिक रूपमा संलग्न इरानी अधिकारीहरूले प्रतिद्वन्द्वी कट्टरपन्थी गुटहरूको आलोचना सामना गर्नु परिरहेको छ। ती गुटहरू ट्रम्पसँगको कुनै पनि सम्झौतालाई आत्मसमर्पणको रूपमा हेर्छन्।
पेजेस्कियन र अराघचीले विश्वसामु इरानको माग र क्षेत्रका लागि सहअस्तित्वको सन्देश दिइरहँदा स्वदेशका सुरक्षा अधिकारीहरूले इरानको वार्ता रणनीतिमा अझ कडा अडान घोषणा गरे।
अराघचीले विटकफलाई भेटेपछि बुधबार एक कट्टरपन्थी सांसद इब्राहिम रेजाईले प्रश्न गरे, ‘आक्रमणकारी शत्रुको प्रतिनिधिसँग विदेशमन्त्रीको भेट कुन अधिकारअन्तर्गत भयो ? यसको जवाफ उनले दिनुपर्छ।’
न्युयोर्कको बैठकमा भाग लिएको भन्दै कट्टरपन्थीहरूले पेजेस्कियनको पनि आलोचना गरेका छन्। क्राइसिस ग्रुपका अजिजीले भने, ‘आलोचकहरूले बाहिरी विश्वलाई सम्झौता गर्ने कुनै सङ्केत दिएमा त्यसलाई कमजोरी र निराशाको रूपमा व्याख्या गरिने चिन्ता व्यक्त गरेका छन्। आफ्नै सर्तमा युद्ध अन्त्य गर्न चाहने इरानका लागि यस्तो कदम प्रत्युत्पादक हुन सक्छ।’
पेजेस्कियन र अराघचीले विश्वसामु इरानको माग र क्षेत्रका लागि सहअस्तित्वको सन्देश दिइरहँदा स्वदेशका सुरक्षा अधिकारीहरूले इरानको वार्ता रणनीतिमा अझ कडा अडान घोषणा गरे।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले पेजेस्कियनको भाषणकै समयमा प्रसारित राज्य सञ्चारमाध्यमको एक अन्तर्वार्तामा अमेरिकासँग वार्ता गर्दा इस्लामिक गणतन्त्रले नयाँ ढाँचा अपनाउने बताएका छन्। उक्त ढाँचाअनुसार वासिङ्टनले नै पहिलो कदम चाल्नुपर्नेछ।
अन्तर्वार्तामा रेजाईले भने, ‘यस नयाँ ढाँचाअन्तर्गत भाषण र केवल वार्ताका लागि मात्र गरिने वार्ताको युग समाप्त भएको छ। भविष्यमा हुने कुनै पनि वार्ता वा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने कुरा वासिङ्टनले पूर्वसर्तका रूपमा इरानका मागहरू पूर्ण रूपमा कार्यान्वयन गरेमा मात्र सम्भव हुनेछ।’
उनको यो भनाइले सायद वासिङ्टनलाई सन्देश मात्र दिएको छैन। यसले न्युयोर्कमा वार्ता गरिरहेका इरानी अधिकारीहरूप्रति सशङ्कित कट्टरपन्थीहरूलाई शान्त पार्ने लक्ष्य पनि राखेको छ।
यद्यपि इरानले राष्ट्रसंघमा कूटनीतिक पहल गर्दै क्षेत्रसँग भविष्यमा सहअस्तित्वको सङ्केत दिइरहेका बेला ओमानको सामुद्रिक सुरक्षा केन्द्रले स्ट्रेट अफ होर्मुज नजिकै एउटा जहाजलाई लक्षित गरी आक्रमण गरिएको र एक जनाको मृत्यु भएको जनाएको छ।
युके मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटिओ) केन्द्रले भनेको छ, ‘पानीजहाजहरूलाई सावधानीपूर्वक आवतजावत गर्न सल्लाह दिइन्छ।’