अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ह्वाइट हाउस प्रवेशमा रोक लगाइएका तीन प्रमुख सञ्चारमाध्यमको पहुँच तत्काल खुला गर्न त्यहाँको एक अदालतले आदेश दिएको छ।
डिस्ट्रिक्ट अफ कोलम्बियाको अदालतले ट्रम्प प्रशासनको कदमविरुद्ध अन्तरिम आदेश जारी गर्दै सीएनएन, पोलिटिको र एमएस नाउका पत्रकारहरूलाई ह्वाइट हाउस प्रवेशको अनुमति आगामी १४ दिनका लागि पुनर्बहाल गर्न निर्देशन दिएको हो।
गत साता ह्वाइट हाउसले ती तीन सञ्चारमाध्यमका संवाददाताहरूको स्थायी प्रवेश पास (हार्ड पास) खोसेर प्रवेशमा प्रतिबन्ध लगाएको थियो। प्रशासनको उक्त कदम असंवैधानिक भएको दाबी गर्दै ती सञ्चारमाध्यमहरू अदालत पुगेका थिए। अदालतमा ट्रम्प प्रशासनले ती सञ्चारमाध्यमहरूले भ्रामक सूचना सम्प्रेषण गरेको र राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको भन्दै आफ्नो कदमको बचाउ गरेको थियो। तर, न्यायाधीश टिमोथी केलीले प्रशासनको उक्त दाबीलाई खारेज गरिदिएका छन्।
न्यायाधीश केलीले प्रतिबन्ध लगाउने क्रममा ह्वाइट हाउसले ‘उचित कानुनी प्रक्रिया’ पूरा नगरेको ठहर गरेका छन् ।
ट्रम्पले सुरुवाती घोषणा गर्दा राष्ट्रिय सुरक्षाको कुनै प्रसंग उल्लेख नगरेको स्मरण गराउँदै अदालतले सञ्चारमाध्यममाथिको कारबाही राष्ट्रिय सुरक्षाका कारण गरिएको भन्ने तर्क तथ्यपरक नदेखिएको जनाएको छ। मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा पत्रकारहरूको पास पुनर्बहाल गर्दा राष्ट्रिय सुरक्षा जोखिममा पर्ने कुनै ठोस प्रमाण नरहेको आदेशमा उल्लेख छ। अदालतको यस आदेशबारे ह्वाइट हाउसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।