डेनमार्क सरकारले नागरिकता आवेदन शुल्कमा वृद्धि गरेको छ । डेनमार्कको अध्यागमन मन्त्रालयले हालको शुल्कलाई ५० प्रतिशतले बढाएको हो ।
अब डेनमार्कको नागरिकता प्राप्तिको आवेदन दिन ६ हजार डेनिस क्रोन अर्थात् ८०४ युरो शुल्क बुझाउनु पर्ने छ । यसअघि नागरिकता आवेदन शुल्क ४ हजार डेनिस क्रोन अर्थात् ५३६ युरो कायम थियो ।
यस्तै, नागरिकता प्राप्तिका लागि पुन आवेदन दिन ३ हजार डेनिस क्रोन अर्थात् ४०२ युरो शुल्क निर्धारण गरिएको छ ।
एक डेनिस क्रोन २१ रुपैयाँ २४ पैसा नेपाली रुपैयाँ बराबर हो ।
नयाँ शुल्क सम्बन्धी व्यवस्था यही जुन १८ बाट लागु गरिएको हो ।
मन्त्रालयले नागरिकता शुल्क वृद्धिले नागरिकता वितरण पक्रियालाई थप व्यवस्थित बनाउने तर्क गरेको छ ।
डेनमार्कमा नागरिकता पाउन अध्यागमन मन्त्रालयमार्फत आवेदन दिनुपर्छ । यद्यपि, कसलाई नागरिकता दिने नदिने भन्ने अधिकार भने संसद्मा निहित हुन्छ । त्यसैले नागरिकता वितरण गर्ने कार्य समेत संसद्ले नै गर्दछ ।
सामान्यतया, संसद्ले वर्षमा २ पटक नागरिकता वितरण गर्दछ । तर यो वर्ष भने एक पटक मात्र नागरिकता वितरण गर्ने तालिका छ ।
यसबाट डेनमार्कमा रहेका र नागरिकता प्राप्तिको प्रक्रियामा रहेका नेपाली समेत प्रभावित हुने छन् । डेनमार्कमा करिब ६ हजार नेपाली रहेको अनुमान छ ।