मादुरोको अपदस्तपछि भेनेजुएलामा ३९ राजबन्दी रिहा

आप्रवासन आप्रवासन

भेनेजुएलामा अन्तरिम सरकार र विपक्षीबीच भएको दोस्रो चरणको वार्तापछि ३९ जना राजबन्दी रिहा भएका छन् । 

मानवअधिकार संस्था जस्टिसिया, एन्कुएन्त्रो यी पेर्दोन (जेईपी) का अनुसार शुक्रबार र शनिबार विभिन्न जेलबाट ३९ जना राजनीतिक अभियन्ता तथा असन्तुष्टलाई रिहा गरिएको हो ।

रिहा हुनेमा सन् २०२१ मा ‘नार्को–आतंकवाद’को आरोप लागेका आठ महिला र सन् २०२० मा तत्कालीन राष्ट्रपति निकोलास मादुरोलाई सत्ताच्युत गर्ने प्रयासमा अमेरिकासँग सहकार्य गरेको आरोप लागेका छ जना पनि छन् ।

जेईपीले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा अझै जेलमा रहेका सबै राजनीतिक बन्दीको पूर्ण स्वतन्त्रताको माग जारी राख्ने जनाएको छ । 

रिहाइ शुक्रबार अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज नेतृत्वको सरकार र विपक्षीबीच भएको दोस्रो चरणको वार्तापछि भएको हो । 

रोड्रिगेज मादुरो सरकारकी पूर्वउपराष्ट्रपति हुन् । जनवरीमा अमेरिकाले मादुरोलाई सैन्य कारबाहीमार्फत सत्ताबाट हटाएपछि वासिङ्टनको स्वीकृतिमा सरकार र विपक्षीबीच वार्ता हुँदै आएको छ ।

यसअघि अगस्टमा भएको पहिलो चरणको वार्तामा विदेशमा रोक्का गरिएका भेनेजुएलाका रकम फिर्ता ल्याउने तथा न्याय प्रणालीमा सुधार गर्ने विषयमा छलफल भएको थियो । 

उक्त रकम जुनमा गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणमा प्रयोग गर्ने योजना छ । सो भूकम्पमा ६ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

अमेरिकाको दबाबपछि रोड्रिगेजले फेब्रुअरीमा आममाफीसम्बन्धी कानुन लागू गरेकी थिइन् । तर राजनीतिक बन्दी रिहाइको प्रक्रिया अपेक्षाकृत सुस्त रहेको अधिकारवादी समूहहरूको भनाइ छ ।

 राजनीतिक बन्दीको अवस्था निगरानी गर्ने अधिकारवादी संस्था फोरो पेनालका अनुसार सेप्टेम्बर १८ सम्म भेनेजुएलामा ३४४ जना राजनीतिक बन्दी थिए । 

अगस्ट १० मा यो संख्या ३९१ थियो । त्यसबेला सरकारले छुट्टै ‘वैकल्पिक उपाय’ कार्यक्रमअन्तर्गत १३१ जनालाई रिहा गरेको जनाएको थियो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसअघि मादुरोलाई सत्ताबाट हटाइएपछि १ हजारभन्दा बढी भेनेजुएली रिहा भएको बताएका थिए । उनले त्यसलाई देशमा मेलमिलापका लागि ‘महत्त्वपूर्ण कदम’ भनेका थिए ।

राजनीतिक बन्दीका परिवारहरूले भने आफ्ना आफन्तको रिहाइको माग गर्दै काराकासस्थित अमेरिकी दूतावास र एल रोडेओ–१ जेलबाहिर निरन्तर प्रदर्शन गर्दै आएका छन् । 

अधिकारवादी संस्थाहरूले एल रोडेओ–१ लाई यातनाका घटना हुने जेलका रूपमा वर्णन गर्दै आएका छन् ।