चिनियाँ राष्ट्रपति सी चिनफिङको तीनदिने अमेरिका भ्रमणका क्रममा दुई देशबिच ८ बुँदे सहमति भएको छ । द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने उद्देश्यसहित ८ बुँदे सहमति भएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुँदामा पारस्परिक सम्मान, निष्पक्षता र पारस्परिकतामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन–अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख छ ।
चिनियाँ पक्षले यसलाई दुई देशबिचको सम्बन्धका लागि नयाँ रणनीतिक आधारका रूपमा व्याख्या गरेको छ ।
चीनका विदेशमन्त्री वाङ यीले सम्बन्धमा ‘सम्मान’ भन्नाले एकअर्काको सार्वभौमिकता, क्षेत्रीय अखण्डता, सामाजिक व्यवस्था, विकासको बाटो तथा मूलभूत हित र प्रमुख चासोको सम्मान गर्नु रहेको बताएका छन् ।
एपीईसी र जी–२० मा सहकार्य
सहमतिको दोस्रो बुँदाअनुसार चीनले नोभेम्बरमा आयोजना गर्ने एपीईसी आर्थिक नेताहरूको बैठक र अमेरिकाले डिसेम्बरमा आयोजना गर्ने जी–२० शिखर सम्मेलन सफल बनाउन दुवै पक्षले एक अर्कालाई सहयोग गर्ने भएका छन् । दुवै नेताले एकअर्काले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने इच्छा पनि व्यक्त गरेका छन् ।
त्यस्तै, तेस्रो बुँदामा इरानले आणविक हतियार विकास नगर्ने आफ्नो प्रतिबद्धता पालना गर्नुपर्नेमा दुवै नेता सहमत भएका छन् । साथै, अन्तर्राष्ट्रिय जलमार्गबाट आवतजावत गरेबापत कुनै देश वा संस्थाले पारवहन शुल्क लिन नहुने सहमति भएको छ ।
व्यापारमा ३० अर्ब डलरको पारस्परिक कर कटौती
आर्थिक तथा व्यापारिक क्षेत्रमा दुवै पक्षले पछिल्ला वार्ताबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने सहमति गरेका छन् । यसमा व्यापार परिषद् जस्ता संयन्त्र स्थापना तथा विस्तार, ३० अर्ब अमेरिकी डलर बराबरको पारस्परिक कर कटौती व्यवस्था र क्वालालम्पुरमा भएका आर्थिक तथा व्यापारिक वार्ताका सहमति विस्तार गर्नेलगायतका विषय छन् ।
यसअघि सेप्टेम्बर २० मा न्यूयोर्कमा चीन र अमेरिकाका आर्थिक तथा व्यापारिक प्रतिनिधिबिच पनि वार्ता भएको थियो । त्यसमा द्विपक्षीय व्यापार तथा लगानीसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।
लागु औषध नियन्त्रणमा संयुक्त कारबाही
छैटौँ बुँदामा चीन र अमेरिकाबिचको लागु औषध नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन सहकार्यलाई निरन्तरता दिने विषय छ । दुवै देशका निकायले हालै नयाँ प्रकारका मनोसक्रिय पदार्थ तथा तिनका पूर्वरसायनसँग सम्बन्धित विभिन्न मुद्दामा संयुक्त अनुसन्धान गरी दुवै देशमा दर्जनौँ संदिग्धलाई पक्राउ गरेको चिनियाँ पक्षले जनाएको छ ।
एआईमा नयाँ संवाद संयन्त्र
एआई सम्बन्धी विषयमा पनि चीन र अमेरिका नयाँ संवाद संयन्त्र स्थापना गर्न सहमत भएका छन् । यसमार्फत एआईका जोखिम र सम्भावित लाभबारे छलफल गरिनेछ । यसको अर्को चरणको संवाद नोभेम्बरमा हुने र एआईसँग सम्बन्धित आकस्मिक घटनाबारे दुई देशबीच प्रत्यक्ष सम्पर्कका लागि छुट्टै सञ्चार माध्यम स्थापना गरिने सहमतिमा उल्लेख छ ।
त्यसैगरि, आठौँ सहमतिअन्तर्गत अमेरिकाको एटलान्टा चिडियाखानामा चीनले भाडामा दिने दुईवटा जायन्ट पाण्डा पुग्न लागेकोमा अमेरिकी पक्षले स्वागत गरेको छ ।
दोस्रो विश्वयुद्धको सहकार्य सम्झना
सहमतिको चौथो बुँदामा चीन र अमेरिका दोस्रो विश्वयुद्धका बेला सहयोगी राष्ट्र रहेको इतिहासलाई दुवै नेताले स्मरण गरेका छन् । चीनको विदेश मन्त्रालयका अनुसार यस वर्ष टोकियो ट्रायल सुरु भएको ८० वर्ष पुगेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्यका रूपमा चीन र अमेरिकाले युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण तथा सैन्यवादको पुनरुत्थान रोक्न साझा जिम्मेवारी वहन गर्ने चिनियाँ पक्षको भनाइ छ ।
यसैबीच, आठबुँदे सहमतिबाहेक चीन र अमेरिकी सेनाले संकटको अवस्थामा सञ्चार र संकट रोकथामलाई बलियो बनाउने समझदारीपत्र (एमओयू) छिट्टै हस्ताक्षर गर्ने सहमति गरेका छन् । चीनमा बेपत्ता अमेरिकी सैनिकका अवशेष खोजीसम्बन्धी सहकार्यलाई पनि निरन्तरता दिने सहमति भएको छ ।
चिनियाँ पक्षका अनुसार सीको अमेरिका भ्रमणले दुई देशबिचको सम्बन्धलाई ‘रणनीतिक स्थिरता’तर्फ लैजान संवाद, व्यापार, सुरक्षा, एआई र अन्तर्राष्ट्रिय मामिलामा सहकार्यका केही व्यावहारिक आधार तय गरेको छ ।