भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।
उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढमा वर्षाका कारण ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।
उत्तराखण्डका सबै जिल्लामा हिजोदेखि भारी वर्षा जारी छ । ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ ।
उता, रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा पहिरो खस्दा करिब ४ हजार श्रद्धालु बाटोमै अलपत्र परेका छन् । मौसम थप प्रतिकूल बन्दै गएपछि प्रशासनले आजका लागि केदारनाथ यात्रामा रोक लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गरिएको छ ।
उत्तर प्रदेशको राजधानी लखनऊ, कानपुर, उन्नाव, बाराबंकी, अयोध्या र जौनपुरसहित ४५ वटा सहरमा पछिल्लो ७० घण्टादेखि निरन्तर वर्षा भइरहेको छ । ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावाहुरी र वर्षाका कारण विगत दुई दिनमा ६२ जनाको ज्यान गइसकेको छ । राज्यका २२ जिल्लामा अचानक बाढी आउन सक्ने उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नेपालमा भएको वर्षाले बिहारका ६ हजार गाउँ डुबानमा
बिहारमा चक्रवात ‘अर्नब’ को प्रभाव केही कमजोर भए पनि विगत ७२ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ । नेपालको तराई क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण गण्डक र कोशी नदीमा भीषण बाढी आएको छ, जसका कारण बिहारका १७ जिल्लाका करिब ६ हजार गाउँहरू टापुमा परिणत भएका छन् भने ५०० भन्दा बढी घरहरू बाढीको पानीले घेरिएका छन् ।
सुपौल जिल्लाका मात्रै ५० गाउँहरू पूर्ण रूपमा जलमग्न भएका छन् ।