चुनाव हारेपछि देश छाडेर बोल्सोनारो भागेको आशंका, भिसा दिने ट्रम्प प्रशासनको निर्णय

आप्रवासन आप्रवासन

 ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारो राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि देश छाडेर भागेको समाचार सार्वजनिक भएसँगै ट्रम्प प्रशासनले उनलाई र उनको परिवारलाई अमेरिका प्रवेशका लागि भिसा जारी गर्ने भएको छ। 

वरिष्ठ अमेरिकी विदेश मन्त्रालयका अधिकारीले उक्त जानकारी दिएका हुन्।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोलाई आफ्नो राहदानी बुझाउन आदेश दिएको भोलिपल्ट मंगलबार यो खबर बाहिर आएको हो। बोल्सोनारोले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै देशमै बसेर विपक्षको नेतृत्व गर्ने बताएका थिए।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लूला डा सिल्भाले दक्षिणपन्थी सिनेटरको यो कदमलाई शर्मनाक भनेका छन्। उनले बोल्सोनारो परिवारमाथि राजनीतिक फाइदाका लागि ब्राजिलको मामिलामा अमेरिकी हस्तक्षेप निम्त्याएको आरोप लगाउँदै आएका छन्। 

लूलाले भने, ‘बोल्सोनारो परिवारको प्रवृत्ति नै यस्तै हो। ब्राजिल उनीहरूको दोस्रो देश हो, अमेरिका नै पहिलो देश हो।’

पूर्व दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले सुरुमा निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गर्दै त्यसलाई रद्द गर्न माग गर्ने बताएका थिए। तर, ४४ लाखभन्दा बढी मतले पराजित भएका उनलाई समर्थन गरेको पार्टीले भने सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन परिणाम स्वीकार गरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन परिणाममा शङ्का व्यक्त गर्दै पत्रकारहरूसँग यो अर्को धाँधलीयुक्त चुनाव जस्तै देखिएको प्रतिक्रिया दिएका छन्। निर्वाचनमा कुनै धाँधली भएको प्रमाण भने अहिलेसम्म भेटिएको छैन। 

अन्तिम समयमा मतदानको समय थपिएको विषयमा आलोचकहरूले विरोध गरे पनि लूलाको जित फराकिलो रहेकाले समय थपको निर्णयले नतिजामा कुनै असर नपार्ने देखिएको छ।