विषालु च्याउ मिसाएर खाना खुवाउँदै तीन जनाको हत्या गरेकी एरिन प्याटरसनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । पुनरावेदन अदालतले यसअघि सुनाइएको सजाय अपराधको गम्भीरताका तुलनामा अपर्याप्त रहेको ठहर गर्दै उनलाई जीवनभर जेलमै राख्ने फैसला गरेको हो ।
५२ वर्षीया प्याटरसनले सन् २०२३ जुलाईमा आफ्ना परिवारका सदस्य र पाहुनालाई घरमा विशेष भोजका लागि बोलाएकी थिइन् । उनले तयार पारेको ‘बिफ वेलिङ्टन’मा विषालु ‘डेथ क्याप’ च्याउ मिसाइएको थियो । खाना खाएको केही घण्टामै पाहुनाहरूमा पेट दुख्ने र अन्य गम्भीर समस्या देखिएको थियो । त्यसको केही दिनपछि तीन जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा प्याटरसनका छुट्टिएका श्रीमान्का आमाबुबा डन र गेल प्याटरसन तथा गेलकी बहिनी हिथर विल्किन्सन थिए । हिथरका श्रीमान् इयान विल्किन्सन भने गम्भीर बिरामी परेपछि उपचारबाट बाँच्न सफल भएका थिए ।
सन् २०२५ जुलाईमा अदालतले प्याटरसनलाई तीन जनाको हत्यामा दोषी ठहर गरेको थियो । उनलाई तीनवटा आजीवन कारावास र चौथो व्यक्तिको हत्या प्रयासमा २५ वर्षको जेल सजाय सुनाइएको थियो । त्यतिबेला उनलाई ३३ वर्षसम्म प्यारोल अर्थात् सर्तसहित रिहाइको सम्भावना नहुने अवधि तोकिएको थियो ।
तर शुक्रबार पुनरावेदन अदालतका तीन न्यायाधीशले अपराध अत्यन्तै योजनाबद्ध र निर्दयी भएको ठहर गरे । न्यायाधीश स्टेफन म्याकलिसले अपराधको प्रकृति ‘असाधारण रूपमा क्रूर र योजनाबद्ध’ भएकाले प्यारोलको अवधि तोक्नु नै अनुचित हुने बताए ।
अदालतले प्याटरसनका वकिलहरूले उठाएका सातवटा पुनरावेदनका आधार अस्वीकार गरेको छ । मुद्दाको सुनुवाइका क्रममा निर्णायक मण्डलका सदस्यहरू अभियोजन पक्षका व्यक्ति र साक्षीसँग एउटै होटलमा बसेको विषयलाई पनि प्रतिरक्षा पक्षले चुनौती दिएको थियो । तर अदालतले त्यसले निष्पक्ष फैसलामा असर पारेको कुनै वस्तुगत आधार नभएको ठहर गर्यो ।
प्याटरसनले आफूले खाना पकाउँदा स्वाद बढाउने उद्देश्यले झुक्किएर विषालु च्याउ प्रयोग गरेको दाबी गरेकी थिइन् । तर निर्णायक मण्डलले उनले हत्या गर्ने उद्देश्यले च्याउ संकलन गरेको ठहर गरेको थियो । उनले च्याउ सुकाउन प्रयोग गरेको उपकरणसमेत घटनापछि फालिदिएको प्रमाण अदालतमा प्रस्तुत गरिएको थियो ।
पुनरावेदन अदालतको पछिल्लो फैसलासँगै प्याटरसनको जीवनकालमा जेलबाट रिहा हुने सम्भावना समाप्त भएको छ । फैसला सुनाउँदा उनी अदालतमा प्रत्यक्ष उपस्थित नभई जेलबाट भिडियोमार्फत जोडिएकी थिइन् ।