अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका क्रममा साहसिक भूमिका निर्वाह गरेका नेपाली मूलका प्रहरी अधिकारी विकास भारतीलाई राष्ट्रिय वीरता पुरस्कार प्रदान गरिएको छ ।
न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीमा कार्यरत सिनियर कन्स्टेबल भारतीलाई सन् २०२५ अक्टोबरमा सिड्नीको क्रोयडन पार्कमा भएको गोलीकाण्डका क्रममा देखाएको साहसका लागि सन् २०२६ को संयुक्त राष्ट्रिय वीरता पुरस्कार प्रदान गरिएको हो ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा बुधबार आयोजित समारोहमा प्रहरी महासंघले उनलाई उक्त पुरस्कार प्रदान गरेको हो । भारती बुरवुड प्रहरी क्षेत्रीय कमान्डमा कार्यरत छन् ।
सन् २०२५ अक्टोबर ५ मा भएको गोलीकाण्डका क्रममा भारती घटनास्थलमा पुग्ने पहिलो प्रहरी अधिकारीमध्ये एक थिए । घटनाका क्रममा आफैँ गोलीको निशानामा परे पनि उनले कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा पठाएका थिए । साथै, उनले घाइते सर्वसाधारणको उद्धारमा समेत सहयोग गरेका थिए ।
पुरस्कार ग्रहण गर्दै भारतीले सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आउँदा यस्तो सम्मान पाउने कल्पनासमेत नगरेको बताए ।
‘पुरस्कारमा मेरो नाम भए पनि प्रहरी सेवा कहिल्यै एकल प्रयासले सम्भव हुँदैन,’ उनले भने, ‘मैले सम्मान पाउने गरी गरेको काममा मेरा सहकर्मीको सहयोग, तालिम र विश्वासको महत्त्वपूर्ण भूमिका छ । त्यसैले यो सम्मान उनीहरूसँग पनि बाँड्न चाहन्छु ।’
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि संघीय संसद्मा भारतीको साहस र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गरेका छन् ।
भारतीले आफूलाई स्वागत गर्ने र समाजका लागि योगदान गर्ने अवसर दिने देशको सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए । प्रहरीको पोसाक लगाउन पाउँदा र समर्पित सहकर्मीसँगै काम गर्न पाउँदा गर्व लागेको उनको भनाइ थियो ।
न्यु साउथ वेल्स प्रहरी आयुक्त माल लान्यनले पनि भारतीको साहसको प्रशंसा गरेका छन् । उनले क्रोयडन पार्कको जोखिमपूर्ण घटनाका क्रममा भारतीले आफ्नो सुरक्षाभन्दा अरूको सुरक्षालाई प्राथमिकता दिएको बताए ।