इरान समर्थित यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल तथा तेल केन्द्रलाई लक्षित गरी ६ वटा आक्रमण गरेको दाबी गरेको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा रास तनुरा तेल प्रशोधन केन्द्र, अरामकोको अब्काइकस्थित केन्द्र, रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, दमामको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल र राबिग तेल प्रशोधन केन्द्रलाई निशाना बनाइएको बताएका छन् ।
समूहले नज्रान क्षेत्रस्थित साउदी सैन्य मुख्यालयमा पनि आक्रमण गरेको दाबी गरेको छ । तर, हुथीको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन । हुथीको यो घोषणा इरान, साउदी अरब, टर्की र पाकिस्तानका उच्च अधिकारीहरूबिच तेहरानमा क्षेत्रीय तनाव कम गर्ने विषयमा छलफल भएको केही दिनपछि आएको हो ।
सोमबार भएको बैठकमा चार देशले संवाद र सहकार्य जारी राख्ने सहमति गरेका थिए । यसैबिच, साउदी नेतृत्वको गठबन्धनले हुथीले राजधानी रियादतर्फ प्रहार गरेका दुई ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको जनाएको छ ।
क्षेप्यास्त्रका अवशेष खस्दा एक साउदी नागरिक घाइते भएका छन् भने एउटा घर र सवारी साधनमा क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको छ ।