बमको धम्कीपछि फ्रान्स, बुल्गेरिया र बेल्जियममा विमानको आकस्मिक अवतरण

आप्रवासन आप्रवासन

युरोपका विभिन्न देशमा बिहीबार बिहान विमानहरूलाई बम राखिएको धम्की आएपछि यात्रुवाहक विमानहरू निर्धारित गन्तव्यभन्दा फरक विमानस्थलमा अवतरण गर्न बाध्य भएका छन् । पछिल्लो घटनाले युरोपेली उड्डयन क्षेत्रमा सुरक्षा चिन्ता बढाएको छ । 

आयरल्यान्डको विमान सेवा कम्पनी एर लिङ्गसले डब्लिनबाट रोमका लागि उडेको आफ्नो उडान नम्बर ईआई ४०२ फ्रान्सको एभ्रु विमानस्थलमा सुरक्षित अवतरण गरेको जनाएको छ । बमको धम्की प्राप्त भएपछि सुरक्षाका दृष्टिले उक्त विमानको मार्ग परिवर्तन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको हो । एभ्रु विमानस्थल फ्रान्सको राजधानी पेरिसबाट करिब १०० किलोमिटर पश्चिममा पर्छ । 

बेल्जियमका सञ्चारमाध्यमका अनुसार ब्रसेल्सस्थित जाभेन्टेम विमानस्थलमा आकस्मिक अवतरण गर्न बाध्य भएको अर्को विमान पोल्यान्डको विमान सेवा कम्पनी एलओटीको थियो । त्यस्तै, हेलसिन्कीबाट रोमका लागि उडिरहेको फिनएयरको विमानलाई इटालीको वायुसेनाले सुरक्षा निगरानीसहित निर्धारित गन्तव्यसम्म पुर्‍याएको घटनासँग सम्बन्धित एक स्रोतले जनाएको छ । उक्त विमानले रोममा सुरक्षित अवतरण गरेको थियो ।

बुल्गेरियाका अधिकारीहरूले पनि बमको धम्कीका कारण तीनवटा विमानले आकस्मिक अवतरण गरेको जानकारी दिएका छन् । बुल्गेरियाको प्रसारण संस्था बीटीभीका अनुसार कोपनहेगन र म्याड्रिडबाट उडेका दुई विमान राजधानी सोफियामा अवतरण गरेका थिए । बुल्गेरियाका गृहमन्त्रीले यसको पुष्टि गरेका हुन् । तेस्रो विमान भने लन्डनबाट उडेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त विमान प्लोभ्दिभ विमानस्थलमा अवतरण गरेको थियो । 

मंगलबार पनि सात विमान र पानीजहाजलाई बमको धम्की

युरोपमा यसअघि मंगलबार पनि कम्तीमा सातवटा उडान र एउटा समुद्री यात्रुवाहक पानीजहाजलाई बम राखिएको धम्की आएको थियो । त्यसका कारण विभिन्न युरोपेली विमानस्थलमा उडान तथा अन्य गतिविधि प्रभावित भएका थिए । यद्यपि, ती घटनामा कुनै पनि विस्फोटक उपकरण फेला परेको थिएन । 

अहिलेसम्म यी धम्कीका पछाडि कुन देश वा समूह जिम्मेवार छ भन्ने कुनै पनि सरकारले औपचारिक रूपमा बताएको छैन । तर, युरोपेली अधिकारीहरूले पछिल्लो समय रुस र इरानमाथि ‘हाइब्रिड आक्रमण’ तथा तोडफोडका गतिविधिमा संलग्न भएको आरोप लगाउँदै आएका छन् ।

हाइब्रिड आक्रमण भन्नाले साइबर हमला, गलत सूचना, तोडफोड र अन्य गैरपरम्परागत माध्यम प्रयोग गरेर अर्को देशको सुरक्षा तथा सामाजिक व्यवस्थामा अवरोध सिर्जना गर्ने गतिविधिलाई बुझिन्छ । यद्यपि, मस्को र तेहरान दुवैले आफूहरू त्यस्तो अभियानमा संलग्न रहेको आरोप अस्वीकार गर्दै आएका छन् ।