काठमाडौँ । सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको आईजीपी बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखको रुपमा कार्यरत थिए । कार्की र सरकारबिच विवाद बढेपछि मन्त्रिपरिषदले आईजीपी नै परिवर्तन गरेको हो । मूलत: रास्वपा सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोशाक खरिदबारे प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।
विवाद बढ्दै जाँदा प्रहरीभित्र तीव्र अन्तर्विरोध भएको थियो भने कार्कीको सरकारसँग पनि विवाद बढेको थियो । विवाद बढ्दै जाँदा कार्कीको नाम बिचौलिया इनम सापकोटासँग सम्पर्क रहेको विषय समेत बाहिरिएको थियो ।