अमेरिकी प्रतिनिधि सभाका डेमोक्रेटिक पार्टीका सांसदहरूले हकिम जेफ्रिजलाई आधिकारिक रूपमा सभामुख (स्पिकर) पदका लागि मनोनीत गरेका छन् । यस निर्णयसँगै उनी अमेरिकी प्रतिनिधि सभाको नेतृत्व गर्ने पहिलो अश्वेत सांसद बन्ने बाटो खुलेको छ ।
आगामी जनवरी ३ मा नयाँ कार्यकाल सुरु भएसँगै प्रतिनिधि सभाले आफ्नो नयाँ सभामुख चयन गर्नेछ । त्यस समय प्रतिनिधि सभामा डेमोक्रेटिक पार्टीको बहुमत रहनेछ । बुधबारसम्मको विवरणअनुसार, आगामी वर्षका लागि अमेरिकी प्रतिनिधि सभामा डेमोक्र्याटहरूसँग कम्तीमा २५७ सिट रहने पक्का भएको छ, यद्यपि सात सिटको नतिजा आउन अझै बाँकी छ ।
यस प्रभावशाली पदमा हकिम जेफ्रिज निर्वाचित हुने लगभग निश्चित मानिएको छ । अमेरिकी व्यवस्थाअनुसार उपराष्ट्रपतिपछि सभामुख नै राष्ट्रपति पदको उत्तराधिकारको वरीयतामा रहने गर्दछन् ।
बुधबार गोप्य मतदानमार्फत सम्पन्न निर्वाचनमा जेफ्रिज २५१ का विरुद्ध ११ मत प्राप्त गर्दै पुनः पार्टीको नेता चयन भएका हुन् । उनी सन् २०२३ देखि प्रतिनिधि सभामा डेमोक्रेटिक पार्टीको अल्पमत दलको नेताका रूपमा कार्यरत छन् ।
पार्टीभित्र अत्यधिक समर्थन प्राप्त भए पनि डेमोक्रेटिक पार्टीको वामपन्थी धारका केही सांसदहरूले भने उनको पक्षमा समर्थन जनाएनन् ।