पहिलो विदेशीका रूपमा पाकिस्तानी अन्तरिक्षयात्रीलाई आफ्नो अन्तरिक्ष केन्द्रमा लैजाने तयारीमा चीन

आप्रवासन आप्रवासन

चीनले आफ्नो मानवसहितको अन्तरिक्ष अभियान ‘सेन्झाउ–२४’ प्रक्षेपणको तयारी तीव्र पारेको छ । यस अभियानमार्फत पहिलोपटक एक पाकिस्तानी अन्तरिक्षयात्री चीनको अन्तरिक्ष केन्द्रमा पुग्ने भएका छन् । 

चीन मानवसहितको अन्तरिक्ष उडान एजेन्सीका अनुसार सेन्झाउ–२४ अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा पुर्‍याउने लङ मार्च–२एफ वाई२४ रकेट अहिले राम्रो अवस्थामा छन् । प्रक्षेपणस्थलका उपकरण तथा संरचनाले पनि सामान्य रूपमा काम गरिरहेका छन् । नोभेम्बर १७ मा अन्तरिक्षयान र रकेटलाई जिउछ्वान प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा पुर्‍याइएको थियो । आगामी केही दिनभित्र उपयुक्त समयमा प्रक्षेपण गर्ने तयारी छ ।

चिसो मौसमलाई ध्यानमा राख्दै प्रक्षेपणस्थलमा विशेष ताप नियन्त्रण व्यवस्था गरिएको छ । रकेट टावरमा करिब २० वटा भोल्टेज स्थिरता उपकरण जडान गरिएको छ भने दुई दशकभन्दा पुराना इन्धन भर्ने पम्पहरू पनि प्रतिस्थापन गरिएको छ । 

सम्भावित आपत्कालीन अवस्थाका लागि चीनले अर्को अन्तरिक्षयान र रकेटलाई पनि तयारी अवस्थामा राखेको छ । सेन्झाउ–२४ अभियानका अन्तरिक्षयात्री अन्तरिक्षमै समस्यामा परेमा सेन्झाउ–२५ अन्तरिक्षयान र लङ मार्च–२ एफ वाई२५ रकेट प्रयोग गरेर उद्धार अभियान सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । 

यस अभियानमा सहभागी पाकिस्तानी अन्तरिक्षयात्रीले पेलोड विशेषज्ञका रूपमा काम गर्नेछन् । अन्तरिक्षमा छोटो समय बिताएपछि उनी सेन्झाउ–२३ अन्तरिक्षयानबाट पृथ्वी फर्किनेछन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले नोभेम्बर ९ मा यो अभियानले चीनको अन्तरिक्ष केन्द्रमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्रीका रूपमा पाकिस्तानी नागरिकलाई स्थापित गर्ने बताएका थिए । चीन र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्षका अवसरमा यो अभियान द्विपक्षीय सहकार्यको अर्को महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ । 

यस अभियानका लागि छनोट सूचीमा परेका दुवै पाकिस्तानी अन्तरिक्षयात्रीले इस्लामाबादस्थित कन्फ्युसियस इन्स्टिच्युटमा चिनियाँ भाषा अध्ययन गरेका थिए । चिनियाँ भाषाको ज्ञानले अन्तरिक्ष विज्ञानजस्ता प्राविधिक क्षेत्रमा निर्देशन, अवधारणा र सञ्चालन प्रक्रिया बुझ्न सहयोग पुग्ने बताइएको छ । 

चिनियाँ अन्तरिक्ष विज्ञहरूका अनुसार यो अभियानले वैज्ञानिक अनुसन्धानका साथै अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्यलाई नयाँ चरणमा पुर्‍याउने अपेक्षा गरिएको छ ।