अस्ट्रेलियामा लैङ्गिक पारिश्रमिक असमानता घट्दै

आप्रवासन आप्रवासन

अस्ट्रेलियामा महिला र पुरुषबीचको औसत पारिश्रमिक अन्तर पहिलोपटक २० प्रतिशतभन्दा तल झरेको सरकारी प्रतिवेदनले देखाएको छ ।

कार्यस्थल लैङ्गिक समानता निकाय (डब्लूजीईए) ले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२५–२६ मा देशको औसत लैङ्गिक पारिश्रमिक अन्तर घटेर १९.७ प्रतिशतमा पुगेको छ । आर्थिक वर्ष २०२४–२५ मा यस्तो अन्तर २१.१ प्रतिशत थियो। सन् २०१३–१४ मा पहिलोपटक तथ्याङ्क सार्वजनिक गर्दा यो अन्तर २८.६ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार वार्षिक औसत आम्दानीका आधारमा पुरुषले महिलाभन्दा २७ हजार ४६७ अस्ट्रेलियन डलर (करिब १८ हजार ४६५ अमेरिकी डलर) बढी कमाउने गरेका छन् ।

डब्लूजीईएका प्रमुख कार्यकारी अधिकृत क्रिस्टिन क्यास्लेले पारिश्रमिक अन्तर पहिलोपटक २० प्रतिशतभन्दा तल झर्नुलाई महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै लैङ्गिक समानताको लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेकी छन् ।

उनका अनुसार पारिश्रमिक अन्तरले विभिन्न प्रकारका कामलाई दिइने महत्त्व, पेसागत उन्नतिका अवसरमा पहुँच र हेरचाहसम्बन्धी जिम्मेवारीको असमान वितरणलाई प्रतिबिम्बित गर्छ । प्रतिवेदनअनुसार अस्ट्रेलियाको कुल कर्मचारीमध्ये महिलाको हिस्सा ५१ प्रतिशत छ। व्यवस्थापकीय पदमा उनीहरूको प्रतिनिधित्व ४४ प्रतिशत भए पनि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भने २४ प्रतिशत मात्रै छ । महिलाहरू तुलनात्मक रूपमा कम पारिश्रमिक पाइने उद्योग तथा पेसामा बढी केन्द्रित रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

यस वर्षको प्रतिवेदनमा पहिलोपटक संघीय सार्वजनिक सेवाको तथ्याङ्कसमेत समावेश गरिएको छ । सार्वजनिक क्षेत्रमा लैङ्गिक पारिश्रमिक अन्तर ७.८ प्रतिशत रहेको छ भने निजी क्षेत्रमा २०.३ प्रतिशत छ । महिला र पुरुषबीच समान पारिश्रमिक सुनिश्चित गर्न संरचनागत अवरोध हटाउनु आगामी प्राथमिकता हुनुपर्ने क्यास्लेले बताएकी छन् ।