यदि तपाईँ आफैँ वा परिवारका सदस्य कुवेतमा हुनुहुन्छ भने तपाईँका लागि सुखद खबर छ ।
अब कुवेतमा रहेका नेपालीले नेपालमा रहेका आफ्ना परिवार वा आफन्तलाई कुवेत बोलाउन पाउने भएका छन् ।
र, त्यसका लागि तलब वा अन्य कुनै मापदण्ड समेत पुरा गर्नुपर्ने छैन ।
कुवेतको गृह मन्त्रालयले हालै मात्र परिवार भिसा कार्यक्रमलाई खुकुलो बनाएको छ ।
यसअघि पनि परिवार भिसामा नेपालीसहितका आप्रवासीहरूले आफ्ना परिवारजनलाई कुवेत बोलाउन पाउँथे ।
तर त्यसका लागि कामदारको मासिक तलब ४०० कुवेती दिनार हुनुपर्ने व्यवस्था थियो ।
अर्थात्, महिनामा एक लाख ८० हजार रुपैयाँ भन्दा बढी तलब भएकाले मात्र परिवारलाई बोलाउन पाउँथे ।
तर कुवेतमा रहेका अधिकांश नेपालीले त्यति तलब खाँदैनन् ।
जसले गर्दा चाहेर पनि परिवारलाई बोलाउन सम्भव थिएन ।
तर कुवेती गृह मन्त्रालयले हालै मात्र आयको सो सीमा हटाउँदै खुकुलो नीति सुरु गरेको छ ।
जसले गर्दा कुवेतमा वैध हैसियतमा रहेका हरकोही आप्रवासीले आफ्ना रगतभित्र पर्ने नोतदारसँगै सासू, ससुरालाईलाई समेत बोलाउन सक्ने छन् ।
यसअघि परिवार भिसा पाउन कुवेतको राष्ट्रिय ध्वजावाहक कुवेत एयरवेजबाटै टिकट काटेको हुनु पर्दथ्यो ।
तर अब भने कुनै पनि एयरलाइन्स, सडक वा जलमार्ग बाट समेत प्रवेश गर्न मिल्ने छ ।
आवेदकहरूले बस् कुवेतमा बस्ने ठेगाना वा आफूलाई बोलाउने आफन्तको ठेगाना प्रदान गरे पुग्छ ।
जसका आधारमा एक वर्षसम्म मान्य पारिवारिक भिसा प्राप्त गर्न सकिने छ ।
यस अन्तर्गत एक वर्षमा एकै पटक वा ३ पटकसम्म गरी एक महिना कुवेतमा बस्न पाइने छ ।
परिवार भिसाका लागि वेबसाइट kuwaitvisa.moi.gov.kw मा गई आवेदन दिन सकिने छ ।