बेलायतले प्रदान गर्ने वर्क र पारिवारिक भिसा व्यापक घटेको छ ।
बेलायतको गृह मन्त्रालयका अनुसार गत जुलाई महिनामा कामदार र पारिवारिक भिसा घट्दा विद्यार्थी भिसा भने स्थिर देखिएको छ ।
जुलाईमा सबैभन्दा धेरै हेल्थ एन्ड केयर वर्कर भिसामा गिरावट आएको छ ।
गृह मन्त्रालयका अनुसार जुलाईमा १ हजार ३०० जनालाई हेल्थ एन्ड केयर वर्कर भिसा प्रदान गरिएको छ ।
जबकि, सन् २०२३ मा १८ हजार ३०० विदेशीले सो भिसा पाएका थिए ।
यस्तै, डिपेन्डेन्ट भिसामा समेत व्यापक कमी आएको छ ।
बेलायतले सन् २०२३ अगस्टमा २३ हजार ३०० जनालाई डिपेन्डेन्ट भिसा जारी गरेको थियो ।
सन् २०२५ को जुलाईसम्म आइपुग्दा सो सङ्ख्या ४ हजार ९०० मा झरेको छ।
स्किल्ड वर्कर भिसामा समेत कमी आएको छ ।
सन् २०२२ देखि सन् २०२४ को मध्येसम्म बेलायतले मासिक रूपमा ६ हजारलाई यस श्रेणीको भिसा प्रदान गर्दै आएको थियो ।
तर सन् २०२५ को जुलाइसम्म आइपुग्दा मासिक दर घटेर ४ हजार ९०० मा खुम्चिएको छ ।
एक वर्षको अन्तरमा जारी गरिने परिवार भिसामा समेत गिरावट आएको छ ।
सन् २०२४ को अप्रिल महिनामा कुल १२ हजार ७०० परिवार भिसा जारी गरिएको थियो ।
तर सन् २०२५ को जुलाईमा ८ हजार १०० जनालाई मात्र परिवार भिसा प्रदान गरिएको छ ।
यद्यपि, यस अवधिमा विद्यार्थी भिसामा भने स्थिरता देखिएको छ ।
सन् २०२५ को जुलाईसम्ममा ४ लाख २८ हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा प्रदान गरिएको छ ।
यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३ प्रतिशतले मात्र कम हो ।
पछिल्लो एक वर्षदेखि बेलायतले आप्रवासन नीतिमा कडाइ गर्दै आएको छ ।
जसको असर बेलायतले नेपालीसहितका आप्रवासीलाई प्रदान गर्ने भिसामा देखिएको हो ।