युएईमा गएको साउनमा मात्रै ३२ जना नेपाली कामदारको ज्यान गएको छ ।
युएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै युएईमा ३२ नेपाली कामदारको मृत्यु भएको हो ।
कार्यस्थल र सडक दुर्घटना, आत्महत्या, हृदयाघात र प्राकृतिक कारणबाट युएईमा ती नेपालीको ज्यान गएको हो ।
युएईमा मृत्युवरण गरेका ती नेपालीको शव नेपाल पठाइसकिएको दूतावासले उल्लेख गरेको छ ।
यो तथ्याङ्कले हरेक दिन औसतमा एक नेपाली कामदारले युएईमा ज्यान गुमाइरहेको देखाएको छ ।
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका १ हजार ५१७ जनाको मृत्यु भएको थियो ।
जसमध्ये युएईमा ज्यान गुमाउनेको सङ्ख्या ३१२ थियो ।
आर्थिक वर्ष २०८०/८१ मा पनि १ हजार ३४६ नेपाली कामदारको विदेशमै मृत्यु भएको थियो ।
जसमध्ये युएईमा मात्र २३१ जनाले ज्यान गुमाएका थिए ।
यसबाट युएई लगायतका देशमा वैदेशिक रोजगारीमा जाने नेपालीले रेमिटेन्सका लागि चर्को मूल्य चुकाइरहेको देखिन्छ ।