अमेरिकाले दीर्घकालीन रोग भएकालाई भिसा अस्वीकार गर्न सक्ने

आप्रवासन आप्रवासन

अमेरिकाले अब मधुमेह, मुटुरोग, क्यान्सर र अन्य दीर्घकालीन स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सक्ने नीति अघि सारेको छ। ट्रम्प प्रशासनको नयाँ निर्देशिका अनुसार अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासका अधिकारीहरूलाई भिसा आवेदकको स्वास्थ्य अवस्था, आर्थिक क्षमता र सार्वजनिक सहयोगमा निर्भर हुने सम्भावनालाई नजिकबाट मूल्याङ्कन गर्न निर्देशन दिएको हो।

निर्देशिकामा कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्धी रोग, मधुमेह, मेटाबोलिक विकार र स्नायुसम्बन्धी समस्या भएका व्यक्तिलाई उच्च जोखिममा परेका समूहका रूपमा उल्लेख गरिएको छ। मोटोपनलाई पनि महँगो उपचार आवश्यक हुने कारण देखाउँदै जोखिम सूचिमा राखिएको छ। यो नियम प्राविधिक रूपमा सबै भिसा आवेदकमा लागू भए पनि स्थायी रूपमा अमेरिकामा बस्न चाहने (ग्रिनकार्ड) आवेदकहरूलाई बढी असर गर्नेछ। भिसा अधिकारीहरूले आवेदकले आफ्नो जीवनकालभरि अमेरिकी सरकारको सहायता बिना उपचार खर्च धान्न सक्ने क्षमता राख्छ कि राख्दैन भन्ने मूल्याङ्कन गर्नेछन्।

अध्यागमन वकिल र जनस्वास्थ्य विज्ञहरूले यस नीतिको आलोचना गर्दै यसले भिसा अधिकारीहरूलाई चिकित्सा ज्ञान नभए पनि व्यक्तिपरक रूपमा निर्णय गर्ने अधिकार दिने बताएका छन्। उनीहरूका अनुसार यो कदमले स्वस्थ र आर्थिक रूपमा सबल आवेदकलाई मात्र फाइदा पुर्‍याउनेछ।

अमेरिकी विदेश मन्त्रालयले “पब्लिक चार्ज” प्रावधानअन्तर्गत नयाँ दिशानिर्देश जारी गर्दै आत्मनिर्भरतालाई अध्यागमन नीतिको मूल सिद्धान्तका रूपमा पुनःस्थापित गरेको जनाएको छ। सरकारी सहायता प्रयोग गर्ने वा संस्थागत हेरचाहमा निर्भर हुने सम्भावना भए भिसा अस्वीकार गरिनेछ। यो नीति लागू भएसँगै दीर्घकालीन रोग भएका र आर्थिक रूपमा कमजोर विदेशी आवेदकहरूका लागि अमेरिकाको भिसा पाउन अझ कठिन हुने देखिन्छ।