वैदेशिक रोजगारीका क्रममा पछिल्ला ११ वर्षमा झन्डै १२ हजार नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म ११,९६४ नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्युका प्रमुख कारणमा हृदयघात, आत्महत्या, सडक दुर्घटना, बिरामीपन र कार्यस्थल दुर्घटना रहेका छन्।
हालै सार्वजनिक ‘आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन’ अनुसार, गत आर्थिक वर्ष १,५४४ नेपाली श्रमिकको मृत्यु दर्ता भएको छ। सो अवधिमा ३२९ जनाको मृत्यु बिरामीका कारण, २२४ जनाको हृदयघात, १९१ जनाको आत्महत्या र १७६ जनाको सडक दुर्घटनाबाट भएको थियो। त्यस्तै, २१२ जनाको प्राकृतिक मृत्यु, ५४ जनाको कार्यस्थल दुर्घटना, ४७ जनाको क्यान्सर, १२ जनाको मिर्गौला समस्या र ६ जनाको कोभिड–१९ का कारण निधन भएको प्रतिवेदनमा उल्लेख छ।
देशगत विवरणमा मलेसिया ३९४ मृत्युका साथ सबैभन्दा जोखिमपूर्ण गन्तव्य देखिएको छ। त्यसपछि साउदी अरबमा ३३५ र युएईमा ३११ नेपालीले ज्यान गुमाएका छन्। कतारमा २५२, कुवेतमा ८४, बहराइनमा २५, रोमानियामा २४ तथा अन्य मुलुकमा साना संख्यामा मृत्यु भएका छन्।
गत वर्षमात्र मृत्यु भएका श्रमिकका परिवारलाई बोर्डले एक अर्ब ११ करोड ९४ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ।
११ वर्षे अवधिमा बिरामी भएर २,७०९, प्राकृतिक कारणले २,२२६, हृदयघातबाट १,८८२, सडक दुर्घटनाबाट १,४१९ र आत्महत्याबाट १,४१८ नेपाली श्रमिकको मृत्यु भएको तथ्याङ्कले देखाउँछ। २७५ जनाको मृत्युको कारण भने अझै अज्ञात छ।