यूएईको भिसा आंशिक रूपमा खुला

आप्रवासन आप्रवासन


जेनजी आन्दोलनपछि कडिनीयुक्त भिसा नीति लागू गरेको संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीहरूका लागि भिसा आंशिक रूपमा खुला गरेको छ। भिजिट भिसा र वर्किङ भिसा दुबै क्षेत्रमा कडाइ गरेपछि करिब दुई महिनापछि यूएईले सीमित श्रेणीका आवेदकका लागि मात्र भिसा सहज बनाएको हो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङका अनुसार सरकारी तथा गैरसरकारी क्षेत्रमा पर्ने विशेष सेक्टरका वर्किङ भिसा जारी हुन थालेका छन्। ‘पहिले बाँकी रहेका फाइलहरू र सरकार तथा सेमी–गभर्मेन्टसँग सम्बद्ध कम्पनीका भिसा मात्रै एप्रुभ भइरहेको छ,’ उनले बताए। उनका अनुसार सामान्य श्रेणीका भिसाबारे भने कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। भिजिट भिसाको हकमा पनि सीमित संख्यामा मात्र जारी भइरहेको संघले जनाएको छ। नोभेम्बर १६ मा मात्रै १८ जना नेपालीको भिसा जारी भएको तथ्य सार्वजनिक भएको छ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भिसा पूर्ण रूपमा बन्द नभएको तर आंशिक रूपमा मात्र जारी भइरहेको पुष्टि गरेका छन्। मन्त्रालयले नेपालस्थित यूएई दूतावास र अबुधाबीस्थित नेपाली दूतावासमार्फत निरन्तर संवाद तथा समन्वय जारी राखेको छ। मंगलबार मात्र यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले यूएई परराष्ट्र मन्त्रालयका कन्सुलर अधिकारी रसिद मधरसँग भेट गरी भिसा सहजतासम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए। भेटमा श्रम–कन्सुलर सेवामा देखिएका चुनौती, यूएईमा रहेका नेपालीले भोगिरहेका समस्या र भ्रमण भिसा सहजताबारे कुराकानी भएको दूतावासले जनाएको छ।
भदौ ३० गतेदेखि यूएईले भिसामा कडाइ गरेपछि एक महिनामै करिब ९ हजार ७ सय नेपाली प्रभावित भएका थिए। भदौमा १९ हजार ६ सय २ जनाले श्रम स्वीकृति पाए पनि असोजमा यो संख्या घटेर ९ हजार ८ सय ९८ पुगेको थियो। कडाइका कारण यूएई श्रम मन्त्रालयबाट ‘मोल’ लिएकामध्ये ४ हजारभन्दा बढीले भिसा प्राप्त गर्न सकेनन्। अहिले भने मोल जारी भएकाहरूलाई क्रमशः भिसा आउन थालेको व्यवसायीहरूले बताएका छन्। उनीहरूले सुरक्षा कारण देखाएर भिसा रोक्नु अनुचित भएको बताउँदै सरकारले कूटनीतिक पहल अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।