डेढ वर्षदेखि सम्पर्कविहीन युक्रेनका युद्धबन्दी सुजन सुवेदी, उद्धारका लागि दाजुभाइको गुहार

आप्रवासन आप्रवासन

 

युक्रेनको युद्धभूमिमा युद्धबन्दी बनेका चितवन खैरहनी–३ का ३३ वर्षीय सुजन सुवेदी डेढ वर्षदेखि सम्पर्कविहीन छन्। २०८१ को दशँैअघि करिब दुई साता बाँकी हुँदा उनले बुबा खड्गबहादुर सुवेदीलाई फोन गर्दै चाँडै नेपाल फर्किने आशा व्यक्त गरेका थिए। यही फोन परिवारसँगको उनको अन्तिम सम्पर्क बन्यो। दुवै मिर्गौला फेल भएका ६१ वर्षीय बुबा छोराको प्रतिक्षामा रहँदै त्यही दशैंको तेस्रो दिन मृत्यु भयो । बुबाको निधन भएको १४ महिना बितिसक्दा पनि सुजनलाई त्यो खबर पुगेको छैन।
सुजन अहिले करिब अढाइ वर्षदेखि युक्रेनी सेनाको नियन्त्रणमा युद्धबन्दीको रूपमा रहेका छन्। परिवारले उनको उद्धारका लागि सबै प्रयास गरिसकेको बताउँछ। दाजु सुमन सुवेदी र विदेशमा रहेका भाइ सौजन सुवेदीले राजनीतिक दलका नेतादेखि सिंहदरबार, बालुवाटार र सम्बन्धित सरकारी निकायसम्म धाएका छन्। तर अहिलेसम्म कुनै ठोस प्रगति नभएको उनीहरूको गुनासो छ। विकल्प बन्द भएपछि उनीहरू मिडिया र सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्न बाध्य भएका छन्।
विद्यार्थी भिसामा रुस पुगेका सुजन त्यहाँ पढ्दै र काम गर्दै थिए। युद्ध चर्किँदै जाँदा रोजगारी ठप्प हुँदा र परिवारको आर्थिक अवस्था झन् जटिल बन्दै जाँदा उनले रुसी सेनामा भर्ती हुने निर्णय गरे। भाइ सौजनका अनुसार परिवारका कसैले पनि उनलाई सेनामा जान दबाब दिएको थिएन, आर्थिक संकटकै कारण उनले बाध्य भएर निर्णय गरेका थिए। रुसी सेनामा भर्ती भएपछि सुरुमा नियमित फोन आउँथ्यो, तर ५–६ महिनापछि युद्ध क्षेत्रमा खटिएपछि सम्पर्क टुट्यो।
सम्पर्क टुटेको दुई महिनापछि एक युक्रेनी पत्रकारले बुबालाई ह्वाट्सएपमार्फत सम्पर्क गरी सुजन युद्धबन्दी बनेको जानकारी दिए। यही पत्रकारमार्फत सुजनको भिडियोसमेत परिवारले पायो। उक्त पत्रकारले नेपाल सरकारसँग वार्ता भएमा सुजनलाई फर्काउने सम्भावना रहेको बताएका थिए। तर परिवारका अनुसार सरकारबाट अहिलेसम्म कुनै औपचारिक प्रगति भएको छैन।
युद्धबन्दी परेका सुजन मात्र होइनन्। बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, मकवानपुरका ईश्वर लामिछाने र गोरखाका मदन कुमालसमेत युक्रेनी सेनाको नियन्त्रणमा छन्। अन्य देशहरूले आफ्ना नागरिक उद्धार गरिसक्दा नेपाल कमजोर कूटनीतिक सक्रियता देखाइरहेको भाइ सौजनको आरोप छ।
सुवेदी परिवार अहिले पनि आशामै छ—सुजन जिवितै फर्कने र आफ्नो बुबाको अन्तिम इच्छा पूरा गर्ने। तर अहिलेसम्म राज्यको स्पष्ट कदम नदेखिँदा उनीहरू निराश हुँदै गए पनि सुजनको उद्धारका लागि प्रयास नछोड्ने दृढता राखिरहेका छन्।