ओमानस्थित नेपाली दूतावासले भिजिट भिसामा काम दिलाइदिने भन्दै भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। दूतावासले सूचना जारी गर्दै भिजिट भिसामा ओमान पुगेपछि काम गर्न पाइन्छ भन्ने भ्रम फैलाएर ठूलो रकम असुल्ने घटना बढ्दै गएको जनाएको हो।
दूतावासका अनुसार केही व्यक्तिहरूले भिजिट भिसामै ओमान पठाएर त्यहाँ पुगेपछि वर्क भिसामा परिवर्तन गरिदिने भन्दै नेपालीहरूलाई प्रलोभनमा पारिरहेका छन्। तर, ओमानमा भिजिट भिसामा गएर सिधै काम गर्न पाइँदैन र त्यस्तो भिसा रूपान्तरणको व्यवस्था पनि नभएको स्पष्ट पारिएको छ।
ओमानको प्रचलित कानुनअनुसार भिजिट भिसामा काम गर्नु गैरकानुनी मानिन्छ। यस्तो अवस्थामा पक्राउ परे जरिवाना, कैद वा डिपोर्टसम्म हुन सक्ने दूतावासले जनाएको छ।
दूतावासले नेपाली नागरिकलाई यस्ता प्रलोभनमा नपर्न, आधिकारिक प्रक्रिया मार्फत मात्र वैदेशिक रोजगारीमा जान र कुनै समस्या परेमा दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको छ।