आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै

आप्रवासन आप्रवासन

 

आज डिसेम्बर १८ का दिन विश्वभर विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदैछ । सन् १९९० मा संयुक्त राष्ट्रसंघले विश्व आप्रवासी कामदार तथा उनीहरूका परिवारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । आप्रवासी कामदारका अधिकार, सम्मान र सुरक्षाप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनु नै यस दिवसको मुख्य उद्देश्य हो ।

यस वर्ष अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा ‘मेरो महान कथास् संस्कृति र विकास’ रहेको छ । यस नाराले मानव आप्रवासनले आर्थिक विकास, सांस्कृतिक विविधता र सामाजिक समृद्धिमा पुर्‍याउने योगदानलाई उजागर गर्दछ । आप्रवासनले समुदायहरूलाई आपसमा जोड्ने, सहकार्य बढाउने र बदलिँदो विश्वमा अनुकूलन गर्न सहयोग गर्ने सन्देश पनि यसले प्रवाह गर्दछ ।

हाल विश्वभर करिब ३० करोड ४० लाख मानिस आप्रवासीका रूपमा विभिन्न देशमा बसोबास गरिरहेका छन् । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना तथा सञ्चार प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय आप्रवासन तीव्र रूपमा बढ्दै गएको छ । नेपालमा पनि राजनीतिक अस्थिरता, सीमित रोजगारी अवसर र आर्थिक कारणले वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्ला वर्षहरूमा बढेको छ ।

यो दिवस आप्रवासी कामदारलाई सम्बन्धित देशका घरेलु कामदारसरह समान व्यवहार, न्यायोचित पारिश्रमिक, सामाजिक सुरक्षा र न्यूनतम मानव अधिकार सुनिश्चित गर्न विश्वव्यापी सचेतना फैलाउने अवसरका रूपमा मनाइन्छ ।