घरको गरिबी हटाउने र परिवारलाई सुख दिने सपना बोकेर सिराहा र सर्लाहीका सात मजदुर भारतको हरियाणास्थित करनाल पुगेका थिए। तर, उनीहरूले सोचेजस्तो ’कमाइ’ होइन, नारकीय यातना र बन्धक जीवन खेप्नुपरिरहेको छ।
स्थानीय ठेकेदार श्रीदेव यादव र बसिर मियाँले मासिक १० हजार भारु तलबको लोभ देखाएर उनीहरूलाई सेलर मिलमा काम गर्न पु¥याएका थिए। तर, त्यहाँ पुगेपछि ती श्रमिकहरूको जीवन साङ्लोबिनाको जेल जस्तै बन्यो। २५ देखि ७० किलोका धानका बोरा बोक्नुपर्ने, खुवाउनुको नाममा आलु–सोयाबिनको पातलो झोल दिइने र थकाइ लागेर सुस्ताउँदा कोठामा थुनेर निर्घात कुटपिट गरिने दर्दनाक तथ्य भागेर आएका ब्रह्म मुखियाले सुनाए।
अहिले राम सदा, रञ्जित, इन्दल, उपेन्द्र र रामकुमार पासवान त्यही मिलमा बन्धक छन्। उनीहरूका परिवारले चार महिनादेखि न त आवाज सुन्न पाएका छन्, न त एक पैसा पाएका छन्। झन् हृदयविदारक अवस्था त २५ वर्षीय गणेश सदाको छ, जो हाल बेपत्ता छन्।
गणेश बेपत्ता हुँदा यता घरमा अर्को बज्रपात परेको छ। गत पुस १६ मा उनका बुबा नन्दलालको निधन भयो। जेठो छोरा साउदी अरबमा छन् भने गणेशको अत्तोपत्तो छैन। अन्ततः १० वर्षीय नाति अनिसले हजुरबुवालाई दागबत्ती दिएर किरिया बस्नुपरेको छ। श्रीमान् बेपत्ता भएपछि उर्मिलादेवीका आँखा ओभाएका छैनन्।
मुसहर संघका प्रतिनिधि र वडाध्यक्षले यसलाई मानव बेचबिखनको गम्भीर घटना भन्दै दोषीलाई कारबाही र मजदुरको उद्धारका लागि पहल थालेका छन्। तर, प्रशासनको ढिलासुस्तीका बीच पीडित परिवारहरू आफ्ना मान्छे फर्कने बाटो हेर्दै प्रत्येक पल छटपटीमा बिताइरहेका छन्।