मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले नेपाली श्रमिकको सुरक्षा र वैदेशिक रोजगारी व्यवस्थापनका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार खाडी तथा मध्यपूर्वका देशमा जाने श्रमिकसम्बन्धी प्रक्रिया निरन्तरता दिने निर्णय गरिएको हो।
सरकारले साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायललगायत देशका लागि वैदेशिक रोजगारी अनुमति र पुनः श्रम स्वीकृति (Re-entry) जारी गर्ने प्रक्रिया जारी राख्ने जनाएको छ। साथै, ती देशमा रहेका नेपाली श्रमिकहरूको विवरण दर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
विद्यमान अवस्थालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले आकस्मिक नियन्त्रण कक्ष (Emergency Control Room) लाई सक्रिय राख्ने निर्णय गरेको छ। यस कक्षमार्फत सेवाग्राहीका गुनासा, सुझाव र जिज्ञासाको तत्काल सम्बोधन गरिनेछ।
त्यसैगरी, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सबाट मध्यपूर्वका विभिन्न देशमा सञ्चालन भइरहेका उडानहरूलाई निरन्तरता दिन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षालाई ध्यानमा राख्दै दूतावासहरू मार्फत ‘र्यापिड रेस्पोन्स टिम’लाई पनि सक्रिय राखिने निर्णय गरिएको छ। सरकारले परिस्थिति निरन्तर अनुगमन गर्दै आवश्यक परे थप निर्णय लिने जनाएको छ।
