‘रोजगारी चाहियो’ भन्दै आएका युवालाई ओलीको जबाफ–उद्योग खोलिदिन्छु

आप्रवासन आप्रवासन

शनिबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका–१ को सरङपाडा बजार पुगे । त्यस क्रममा उनले स्थानीय र आफ्ना कार्यकर्तासँग केहीबेर छलफल गरे ।

छलफल सकेर तरकारी बजार पसेका ओलीले व्यापारीसँग तरकारीको भाउ सोधे । ओली तरकारीको भाउ सोधेर निस्किन लागेकामात्र के थिए, केही युवा–विद्यार्थीले उनीसँग भेट गर्न खोजे ।

भेटका क्रममा एक विद्यार्थीलाई ओलीले सोधे, ‘के छ आवश्यकता ? के चाहिएको छ युवा साथीहरूलाई ? ।’

सोही क्रममा एक युवाले ओलीलाई भने, ‘हामीले काम पाएनौँ । रोजगार चाहियो ।’

ओलीले लगत्तै भने, ‘ल, उद्योग खोलिदिन्छु ।’

ओली र युवा विद्यार्थीहरूसँग भएको उक्त संवाद सुनाउँदै सोही ठाउँका ८४ वर्षीय ज्येष्ठ नागरिक तिलकबहादुर पोखरेलले असन्तुष्टि व्यक्त गरे ।

‘बाले के चाहिएको छ भनेर सोधे, उनीहरूले जागिर र रोजगारीको माग गरे । ओलीले उद्योग खोल्दिन्छु भनेर गए,’ पोखरेलले सुनाए, ‘अब के उद्योग खोल्नु ! यतिबेर केही गरेको होइन ।’

झापा–५ मा बसोबास गर्ने स्थानीय बाहेक अरूलाई यस क्षेत्रमा धेरै विकास भएको होला भन्ने लाग्नु स्वाभाविक हो । किनकि आफू प्रधानमन्त्री हुँदा ओलीले अरबौँ बजेट खन्याएको विषयले चर्चा पाउँदा सबैको अनुमान पनि झापा–५ मा धेरै विकास भएको होला भन्ने नै हुनसक्छ । तर, स्थानीयवासी भने चिल्ला सडक बने पनि त्यसले खान नदिने भन्दै असन्तुष्टि व्यक्त गर्छन् । चिल्ला सडक पनि सबैतिर पुगेका भने छैनन् ।

गौरीगञ्ज–३, ठेकीटोलाका ६१ वर्षीय कमल कुमार निरौला धुलोमय बाटोको किनारमा बसिरहेको भेटिए । त्यस क्रममा उनलाई यहाँ राज्यले गर्न बाँकी काम के हो भनेर प्रश्न गर्‍यौँ । जबाफमा उनले भने, ‘बाटो लथालिङ्ग छ, यसलाई बनाउनुपर्‍यो । बाटो कोरेर छोडिदिए । हामीले धुलो खानु परेको छ । यसले सबैलाई असर गरेको छ ।’

गौरादह–७ की चन्द्रकला दर्जीको घर अगाडिको बाटो पनि धुलोमय छ । उनले बाटोसँगै आफ्ना पढेलेखेका सन्तानलाई रोजगारीको व्यवस्था हुनुपर्ने माग गरिन् । ‘३६–३७ वर्ष भइसक्यो भोट हालिरहेकै छौँ । अस्ति हाम्रा छोराछोरी जस्तै बच्चाबच्चीलाई गोली लागेर ढलेको देख्दा कति मन रोयो । उनका परिवार कति रोए होलान्,’ दर्जीले विगतको भोट परिवर्तनको सङ्केत गर्दै भनिन्, ‘हाम्रा छोराछोरी कति पढेर पनि केही रोजगारी पाएका छैनन् । हाम्रा छोराछोरीहरूलाई केही गरेर अगाडि बढाइदिने मान्छेलाई चाहिँ हामी भोट दिन्छौँ ।’

दमक–३, ढुकुरपानीका पूर्ण धिमाल सुकुम्वासी हुन् । उनको छाप्रोबाट दक्षिणपूर्वमा ठुलो टावर (दमक भ्यू टावर) ठडिएको छ । धिमालकै घर अगाडिको बाटो भने धुलाम्मे छ ।

गौरादह–८ की सबिता ताजपुरिया स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने बताउँछिन् । ‘स्वास्थ्य क्षेत्रमा पनि अलि हेरिदियोस् । सरकारी स्कुलमा सबै फ्री–फ्री भन्छन्, फ्रीचाहिँ केही हुँदैन । नाम लेखाउन पैसा नै लिन्छन् । एक्जाम फिस भन्दै पैसा नै लिन्छन् । इङ्लिस मिडियम भन्छन् । त्यसबाट पैसा लिन्छन्,’ उनले भनिन् ।

गौरादह–३ का विष्णुप्रसाद पराजुली अवकाश प्राप्त शिक्षक हुन् । राजनीतिक दलले सम्बोधन गर्नुपर्ने विषय बाटोघाटो र विद्युत् नै रहेको उनको दाबी छ ।

यस्तै रतुवामा तटबन्ध बनाउनुपर्ने पराजुलीको माग छ । ‘किसानलाई राहत केही भएन । मलको कुरामा पनि किसान मारमा परेका छन्,’ उनले थप एजेण्डा सुनाए ।

दमक–३ की मेनुका कार्की (धमला) सुकुम्वासी हुन् । ‘सबैलाई यहाँ धनीपुर्जा दिने भनेको अहिलेसम्म धनीपुर्जा दिएको छैन । अनि गुनासो त गुनासै गुनासो छ नि हाम्रो,’ चुनावी घरदैलो कार्यक्रम लिएर पुगेका रास्वपाका नेतालाई उनले भनिन्, ‘हाम्रो बाटोको पानीको निकासै छैन । हाम्रो घरबाट पानी निस्किने निकासै छैन, ठाउँ नै छैन । बाटो बाटोमा पानी बग्छ । सब अव्यवस्थित छ यहाँ ।’

आफ्नो घर दक्षिणमा रहेको भ्यू टावर देखाउँदै उनले भनिन्, ‘मुखले त जे भन्दा पनि भयो नि । केपी ओलीले त्यहाँ त्यस्तो भ्यु टावर बनाइदिएको छ, अरु के भयो ? हामीलाई के गरे र ? हामीलाई ५० हजारको टिन दिए, ४/५ लाख ऋणमा डुबाइदिए । भ्यु टावर बन्दाखेरि सबै इन्डियातिरबाट मान्छे ल्याएर काम लगाउनुभयो, तर यहाँको सर्वसाधारणलाई केही कामै दिनुभएन ।’

स्थानीय स्तरमा कुनै योजना कार्यान्वयन हुँदा एसईई पढेका, १२ क्लास पढेकालाई जागिर नदिने, बाहिरका मान्छे ल्याएर काम लगाउने गरेकोमा पनि उनको गुनासो छ ।

दमक–३ का रास्वपाका कार्यकर्ता केशव दाहाल कृषि, पर्यटन, स्वास्थ्यको क्षेत्रमा विकास गर्नुपर्ने बताउँछन् । ‘यो क्षेत्र कृषिको लागि पनि एकदम बेटर ठाउँ हो । दोस्रो कुरा, वन यहीँ भएकाले वन विज्ञान क्याम्पसको पनि सम्भाव्यता भएको ठाउँ छ । पर्यटनका लागि पनि केही सेक्टर छन्,’ उनले भने, ‘टावरै यहीँ भए पनि यसलाई अब चेन्ज गरेर मेडिकल कलेज बनाउने कुराहरू पनि छन् । यहाँ रहेका खोलाहरूको संरचना छ, त्यो संरचनामा कोरिडोर जस्तो बाटो बनाएर त्यहाँ बोटिङदेखि लिएर हरेक कुरा गर्ने सम्भावना भएको ठाउँ छ ।’

दमक–३ ढुकुरपानीकै मान बहादुर भुजेलले जग्गाधनी पुर्जा नपाएको गुनासो गरे । ‘राम थापा (दमकका मेयर)ले ६ महिनाभित्र धनीपुर्जा दिन्छु भनेर जितेका हुन्, २ वर्ष भइसक्यो केही छैन । अब त नयाँ हेर्नुपर्छ,’ उनले भने, ‘भ्यू टावरलाई हस्पिटल वा कलेज बनाउनुपर्छ ।’

सोही ठाउँका बलभद्र धिमाल र पूर्ण धिमाल पनि बाटोकै समस्या रहेको सुनाउँछन् ।