क्रोएसियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आकर्षित गर्न क्रोएसिया इम्प्लोयर्स एसोसिएसनले विद्यार्थी भिसा जारी गर्न आग्रह गरेको छ । एसोसिएसनले गृह मन्त्रालयलाई पत्र लेख्दै कानुन संशोधन गरी विदेशी विद्यार्थी भित्र्याउन भनेको हो ।
क्रोएसियामा अध्ययन गर्ने विदेशी विद्यार्थीका लागि लामो समयको भिसा नहुँदा क्रोएसियाले त्यस्ता विद्यार्थी गुमाइरहेको छ । जसले गर्दा विदेशी विद्यार्थीहरूले क्रोएसिया रोज्ने सङ्ख्या पनि घट्दो क्रममा छ भने श्रम बजारमा कामदारको अभाव समेत देखिएको छ ।
तथ्यांक अनुसार हाल क्रोएसियामा विद्यार्थीहरूको सङ्ख्या सात वर्षअघि भन्दा सात प्रतिशतले कम छ । त्यस्तै, देशभर रहेका १,८४८ अध्ययन कार्यक्रमहरूमध्ये मात्र १४७ वटा विदेशी भाषामा अध्यापनका लागि मान्यता प्राप्त छन् जसले थप अवरोध सिर्जना गरिरहेको छ ।
विद्यार्थी भिसा अभाव तथा स्वास्थ्य बिमाको समस्या क्रोएशियाली उच्च शिक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय पहुँचका लागि प्रमुख चुनौती बनेको छ ।
यस्तै, क्रोएसियामा अध्ययन गर्न चाहनेका लागि छोटो अवधिको भिसा जारी गरिन्छ । त्यसपछि उनीहरूलाई अध्ययनका लागि एक वर्षको बसोबास रेसिडेन्स परमिट दिइन्छ, तर यसमा कडा प्रतिबन्धहरू लागु हुन्छन् ।
इम्प्लोयर्स एसोसिएसन अनुसार कानुन संशोधन गरी अध्ययन भिसा जारी गर्नाले देशलाई प्रतिस्पर्धात्मक अध्ययन गन्तव्यको रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।