पाकिस्तानमा अमेरिका–इरान ऐतिहासिक वार्ता

आप्रवासन आप्रवासन

फुटपाथहरूमा रङ लगाइँदैछ, सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र पाकिस्तानको राजधानीमा एक किसिमको उत्साह र चिन्ताको माहोल छाएको छ। किनकि यसै साताको अन्त्यमा यहाँ विश्वकै ध्यान तान्ने एउटा महत्त्वपूर्ण बैठक हुँदैछ।

अमेरिका र इजरायलले इरानमा गरेको समन्वयात्मक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको ठिक ६ हप्तापछि यो वार्ता हुन लागेको हो। उक्त घटनाले बहु-राष्ट्रिय युद्ध निम्त्याएको छ, जसमा हजारौँ मानिस मारिएका छन्, विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग बन्द भएको छ र ऊर्जाको मूल्य अकासिएको छ। यही बिच शनिबार इस्लामाबादमा शीर्ष अमेरिकी र इरानी अधिकारीहरूबिच वार्ता हुँदैछ।

वासिङ्टन र तेहरान पाकिस्तानको मध्यस्थतामा दुई हप्ते युद्धविराममा सहमत भएको केही दिनपछि यो बैठक बस्न लागेको हो। यद्यपि, युद्धविरामका सर्तहरूबारे दुवै पक्षको फरक-फरक बुझाइ र लेबनानमा इजरायलको तीव्र बमबारीका कारण यो सहमति अहिले नै दबाबमा परिसकेको छ।

13890988-1775729160

इजरायलबाहेक खाडीका छिमेकी राष्ट्रहरूमा इरानले गरेको आक्रमणका कारण फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि नै विश्वको सबैभन्दा ठूलो ऊर्जा निर्यात हब र व्यापार, पर्यटन तथा नवप्रवर्तनको केन्द्र त्रसित छ। स्ट्रेट अफ होर्मुज (जहाँबाट शान्तिकालमा विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति हुन्छ) लाई प्रभावकारी रूपमा बन्द गर्ने र आफूसँग सम्झौता गरेका देशका जहाजलाई मात्रै प्रवेश दिने तेहरानको निर्णयले विश्व बजारलाई हल्लाइदिएको छ र ऊर्जाको मूल्यलाई कीर्तिमानी विन्दुमा पुर्‍याएको छ।

यस सप्ताहन्तमा, युद्धका प्रमुख पक्षहरूका वरिष्ठ प्रतिनिधिहरू मार्गल्ला हिल्सको फेदीमा रहेको पाकिस्तानको हरियालीयुक्त राजधानीमा भेला हुनेछन्।

इस्लामाबादमा हुन गइरहेको आगामी वार्ताबारे तपाईंले जान्नैपर्ने सबै कुरा यहाँ प्रस्तुत गरिएको छ - को-को सहभागी हुने अपेक्षा गरिएको छ, वार्ता कहाँ हुनेछ, एजेन्डामा के छ, सम्भावित अवरोधहरू के हुन् र विश्वले यसबाट के अपेक्षा गर्न सक्छ?

  • वार्ता कहिले र कहाँ हुनेछ?

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले युद्धको पूर्ण समाधानको लागि दुवै पक्षलाई औपचारिक रूपमा निमन्त्रणा गरेपछि यस सप्ताहन्तमा इस्लामाबादमा वार्ता सुरु हुँदैछ।

ह्वाइट हाउसले शनिबार बिहान (स्थानीय समय) बाट औपचारिक छलफल सुरु हुने पुष्टि गरेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अप्रिल ८ मा वार्ता १५ दिनसम्म चल्न सक्ने बताएको छ। यसले केही प्रतिनिधिहरू शनिबारपछि पनि इस्लामाबादमै बस्ने वा अर्को चरणको वार्ताका लागि फेरि फर्किने सम्भावना देखाउँछ।

13890992-1775728798

प्रतिनिधिमण्डलहरू इस्लामाबादको सेरेना होटेलमा बस्नेछन्। प्रमुख सरकारी भवन र दूतावासहरू रहेको राजधानीको रेड जोनमा अवस्थित यस होटेललाई बुधबार साँझदेखि आइतबारसम्मका लागि रिजर्भ गरिएको छ र पाहुनाहरूलाई होटेल खाली गर्न भनिएको छ। यही होटेलमा वार्ता हुने अपेक्षा पनि गरिएको छ।

अधिकारीहरूले संघीय राजधानीमा अप्रिल ९ र १० लाई सार्वजनिक बिदा घोषणा गरेका छन्। यद्यपि प्रहरी, अस्पताल र अत्यावश्यक सेवाहरू भने सुचारु रहनेछन्।

सहरभरि सुरक्षा कडा पारिएको छ। रेड जोन सिल गरिएको छ र इस्लामाबाद प्रवेश गर्ने मुख्य नाकाहरू पनि बन्द गरिएका छन्।

  • वार्तामा को-को सहभागी हुँदैछन्?

ह्वाइट हाउसले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने र उनीसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुश्नर सहभागी हुने पुष्टि गरेको छ।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गर्ने अपेक्षा गरिएको छ। युद्धमा तेहरानको सैन्य नेतृत्व गरिरहेको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को कुनै प्रतिनिधि सहभागी हुने वा नहुने भन्ने स्पष्ट छैन। गालिबाफ आफैं पूर्व आईआरजीसी कमाण्डर हुन्।

तर पाकिस्तानी अधिकारीहरूले प्रतिनिधिमण्डलहरू वास्तवमै नआउन्जेलसम्म कुनै पनि कुरा निश्चित नभएको भन्दै सतर्क गराएका छन्।

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोगद्दमले ‘एक्स’ मा छोटो जानकारी दिँदै अप्रिल ९ मा इरानी प्रतिनिधिमण्डल आउने बताएका थिए। उनले लेखेका थिए, ‘कूटनीतिक पहललाई विफल पार्न इजरायलले बारम्बार युद्धविराम उल्लंघन गरेकाले इरानी जनतामा संशय भएता पनि टोली इरानले प्रस्ताव गरेका १० बुँदाका आधारमा गम्भीर वार्ता गर्न आउन लागेको हो।’ तर उनले केही घण्टामै उक्त पोस्ट हटाए।

  • वार्ताको स्वरूप कस्तो हुनेछ?

टोलीहरू कहिले आइपुग्छन् भन्ने आधारमा प्रधानमन्त्री सरिफले शुक्रबार वा शनिबार बिहान दुवै पक्षसँग छुट्टाछुट्टै प्रारम्भिक भेटघाट गर्ने अपेक्षा गरिएको छ।

यस द्वन्द्वभर मध्यस्थता गर्दै दुवै पक्षलाई भेट्ने काममा संलग्न रहेका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शनिबारको मुख्य वार्ताको सहजीकरण गर्नेछन्।

पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर सहभागी हुने वा नहुने अझै अस्पष्ट छ। विदेश मन्त्रालय र सेनाको मिडिया विंग दुवैले अल जजीराको प्रश्नको जवाफ दिएनन्।

शनिबार, अमेरिका र इरानका टोलीहरू छुट्टाछुट्टै कोठामा बस्नेछन् र पाकिस्तानी अधिकारीहरूले उनीहरूबिच सन्देश आदानप्रदान गर्नेछन्।

वार्तामा जेडी भान्सको सहभागितालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। इरानी अधिकारीहरू विटकफ र कुश्नरसँगको थप संवादप्रति सशंकित छन् । फेब्रुअरीमा मस्कट र जेनेभामा उनीहरूसँग वार्ता चलिरहँदा अमेरिकाले इरानमा बमबारी सुरु गरेको थियो। 

उनीहरू भान्सलाई द्वन्द्व अन्त्य गर्न बढी खुला र लचिलो मान्छन्। सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारका रूपमा हेरिएका भान्स पश्चिम एसियामा अमेरिकी सेनाको लामो समयसम्मको संलग्नताप्रति सावधान रहने नेता हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबाट ३ दर्जनभन्दा बढी भिसा आवेदन परेकोमा कम्तीमा २० जना पत्रकारलाई अनुमति दिइएको अधिकारीहरूले बताएका छन्। साथै, ३० सदस्यीय अमेरिकी सुरक्षा टोली इस्लामाबाद पुगिसकेको पुष्टि पनि भएको छ।

  • पाकिस्तान नै किन?

हालैका हप्ताहरूमा पाकिस्तान वासिंटन र तेहरानबिच एक प्रमुख मध्यस्थकर्ताको रूपमा उदाएको छ। विगतमा दुवै देशसँग तनाव भए पनि, इस्लामाबादले हाल दुवैसँग काम गर्न सक्ने सम्बन्ध कायम राखेको छ।

हालैका दिनहरूमा कूटनीतिक प्रयासलाई तीव्रता दिँदै सेना प्रमुख असिम मुनिरले अमेरिकी र इरानी नेताहरूसँग पटक-पटक फोन वार्ता गरेका छन्।

पाकिस्तानको इरानसँग ९०० किलोमिटर लामो सीमा जोडिएको छ र इरानपछि विश्वकै दोस्रो ठुलो शिया मुस्लिम जनसंख्या पाकिस्तानमा छ, जसले तेहरानका लागि यसको महत्त्व बढाउँछ।

पश्चिम एसियाका धेरै देशहरू जस्तो पाकिस्तानमा अमेरिकी सैन्य अखडाहरू छैनन्, जसले इरानीहरूको नजरमा पाकिस्तानलाई थप विश्वसनीय बनाएको छ। सँगसँगै, पाकिस्तान सन् २००४ देखि नै अमेरिकाको प्रमुख गैर-नाटो सहयोगी रहँदै आएको छ।

यद्यपि इस्लामाबादमा अमेरिकी राजदूतको पद प्रायः खाली नै रहने गरेको छ। सन् २०१८ यता डोनाल्ड ब्लूम मात्र एक मात्र पूर्ण राजदूतको रूपमा सन् २०२२ देखि २०२५ को सुरुसम्म रहेका थिए। हाल यो पद रिक्त छ।

यसअघि सन् २००६ को मार्चमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले र सन् २०११ को जनवरीमा उपराष्ट्रपति जो बाइडेनले पाकिस्तानको भ्रमण गरेका थिए।

१५ वर्षपछि जेडी भान्सको अपेक्षित भ्रमण द्विपक्षीय सम्बन्धभन्दा पनि युद्ध अन्त्य गर्ने वार्तामा केन्द्रित छ। अमेरिकाको राजदूत नै नभएको देशमा अमेरिकी उपराष्ट्रपतिले भ्रमण गर्नु निकै दुर्लभ र महत्त्वपूर्ण घटना हो।

  • एजेन्डामा के छ?

दुवै पक्ष ठूला मतभेदहरूसहित वार्तामा प्रवेश गर्दैछन्।

इरानको १० बुँदे शान्ति प्रस्तावमा स्ट्रेट अफ होर्मुजमा इरानको अनुगमन, पश्चिम एसियाबाट अमेरिकी लडाकु सेनाको फिर्ती र इरान-सम्बद्ध सशस्त्र समूहहरूमाथिको सैन्य कारबाही रोक्नुपर्ने जस्ता मागहरू छन्।

अमेरिकाले औपचारिक रूपमा यी सर्तहरू स्वीकार गरेको छैन, यद्यपि ट्रम्पले १० बुँदे योजनालाई कार्यान्वयन योग्य भनेका छन्। अर्कोतर्फ ह्वाइट हाउसले इरान आफ्नो संवर्धित युरेनियमको भण्डार सुम्पन तयार रहेको दाबी गरेको छ, जसलाई प्रवक्ता क्यारोलिन लेभिटले सम्झौता गर्न नसकिने माग भनेकी छिन्। तर इरानले आधिकारिक रूपमा युरेनियम त्याग्न तयार रहेको कुरा स्वीकार गरेको छैन।

विवादको अर्को ठूलो विषय लेबनान हो। बुधबार इजरायलले लेबनानमा गरेको भीषण बमबारीमा २०० भन्दा बढी मानिस मारिएका छन्, जुन वर्तमान युद्ध सुरु भएयताकै सबैभन्दा तीव्र आक्रमण हो।

इरानी विदेशमन्त्री अराघचीले इजरायली आक्रमण जारी रहे तेहरानले युद्धविराम तोड्न सक्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले युद्धविराम वा इजरायल मार्फत निरन्तर युद्धमध्ये एक रोज्नुपर्ने बताए। उनले पाकिस्तानी प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै युद्धविराममा लेबनान लगायत सम्पूर्ण क्षेत्रमा हुने आक्रमण रोकिनुपर्ने कुरा समावेश भएको जिकिर गरे।

तर, बुडापेस्टमा बोल्दै भान्सले युद्धविरामका सर्तहरूमा लेबनान समावेश नभएको बताएका छन्, जुन अडान ट्रम्प र ह्वाइट हाउसले पनि लिएका छन्।

चीनका लागि पूर्व पाकिस्तानी राजदूत मसूद खालिदले अल जजीरासँग कुरा गर्दै वार्ता सुरु हुनुअघि नै माहोल बिग्रिसकेको बताए। ‘इजरायलले यस प्रक्रियालाई कमजोर पार्न विघ्नकर्ताको भूमिका खेलिरहेको छ,’ उनले भने, ‘लेबनानमा उसको निरन्तर बमबारीको उद्देश्य पक्षहरूलाई आ-आफ्नो अडानमा अझ कडा बनाउनु र वार्ता बिथोल्नु हो। यस चरणमा हामी सतर्कतापूर्वक मात्र आशावादी हुन सक्छौं किनभने वार्ता पक्कै पनि जटिल र झन्झटिलो हुनेछ, र १५ दिनको समयसीमा भन्दा पर लम्बिन सक्छ।’

वासिङ्टन डीसीस्थित इन्स्टिच्युट फर ग्लोबल अफेयर्सकी विश्लेषक सहर खान पनि यसमा सहमत छिन्।

‘अविश्वासको कमी नै सबैभन्दा ठूलो बाधा हो,’ उनले अल जजीरालाई भनिन्, ‘अहिले वासिंटन र तेहरान दुवै अधिकतम मागहरू राखेर आफूले जितेको देखाउन चाहन्छन्, तर यदि यो युद्धविराम टिक्यो र उनीहरू साँच्चै भेटे भने, त्यो नै सबैभन्दा महत्त्वपूर्ण कदम हुनेछ।’

  • सम्भावित नतिजा र अवरोधहरू के-के हुन्?

विश्लेषकहरूका अनुसार दुवै पक्षबिच गहिरो अविश्वास रहेकाले तत्कालै अन्तिम सम्झौता हुने सम्भावना निकै कम छ। इरानका राजदूत अमिरी मोगद्दमले हटाइएको आफ्नो पोस्टमा संकेत गरेका थिए कि तेहरानले इजरायली आक्रमणलाई वार्ता बिथोल्ने प्रयासको रूपमा हेरेको छ।

लेबनान मुख्य विवादको विषय बन्दैछ। पूर्व राजदूत खालिदका अनुसार सरिफको निमन्त्रणामा लेबनानको स्पष्ट उल्लेख हुनुले यस विषयमा वासिंटनसँग पहिले नै छलफल भएको संकेत गर्छ।

‘इजरायली प्रधानमन्त्री नेतन्याहुले तुरुन्तै पाकिस्तानको अडानलाई अस्वीकार गरे भने राष्ट्रपति ट्रम्पले पनि पछि लेबनानलाई युद्धविरामको दायराबाट बाहिर राखे,’ पूर्व राजदूतले भने,

‘अर्कोतर्फ, इरान लेबनानमा इजरायली आक्रमण रोक्न दृढ छ र यसलाई फ्रान्स जस्ता केही प्रमुख देशहरूको समर्थन छ। यसको साँचो अब राष्ट्रपति ट्रम्पको हातमा छ।’

विश्लेषक खानले लेबनानलाई अमेरिका र इजरायलबिचको सम्भावित ‘ब्रेकिङ प्वाइन्ट’को रूपमा वर्णन गरिन्।

‘यदि इजरायलले आक्रमण गर्न छोड्यो भने मात्र दिगो समाधान सम्भव छ। वार्ताका सबै चरणहरूमा, इरानमाथि आक्रमण गरेर इजरायलले नै यसलाई तोडेको छ। अन्ततः यो अमेरिकामा निर्भर छ: कि त युद्धविराम त्यागेर इरानमाथि आक्रमण गर्ने, कि इजरायललाई युद्धविरामको पालना गर्न बाध्य पार्ने,’ उनले भनिन्।

गल्फ इन्टरनेशनल फोरमकी कार्यकारी निर्देशक डानिया थाफरले वार्तामा इजरायलको अनुपस्थिति एक संरचनात्मक चुनौती भएको बताइन्।

‘इजरायल युद्धको एक पक्ष हो र यो युद्ध जारी राख्नमा उसको सबैभन्दा बढी स्वार्थ छ। त्यसैले ऊ पनि वार्ता र अन्तिम सम्झौताको हिस्सा हुनुपर्छ,’ उनले भनिन्, ‘अन्यथा, उनीहरूले कुनै पनि सम्झौताका सर्तहरूमा आफू सहमत नभएको तर्क सधैं गर्न सक्छन्।’

खालिदले विस्तारै दुवै पक्षका कडा अडानहरू नरम हुन सक्ने सुझाव दिए। ‘आणविक मुद्दामा अमेरिका र इरानबिच केही सहमति र स्ट्रेट अफ होर्मुज खोल्न बहुपक्षीय समझदारी सम्भव हुन सक्छ, किनकि दुवै पक्ष युद्धबाट थकित छन् र विश्राम चाहन्छन्,’ उनले भने।

तर शान्तिको प्रत्याभूतिदाता बन्ने विषयमा भने उनी सशंकित छन्। ‘कुनै पनि एउटा देश अमेरिका वा इजरायलको तर्फबाट ग्यारेन्टर बन्न तयार हुनेछैन,’ उनले भने, ‘चीनले अमेरिकी र इजरायली व्यवहारको ग्यारेन्टी लिने जोखिम उठाउन सक्दैन।’

कुनै पनि सम्झौताको लागि प्रमुख मध्यपूर्वी राष्ट्रहरू, संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरू र बाध्यकारी प्रस्तावको समर्थन आवश्यक पर्ने उनले थपे।

विश्लेषक खानका अनुसार अहिले नै ग्यारेन्टरको कुरा गर्नु हतारो हुनेछ, किनभने यस चरणको वार्तामा चीनको उपस्थिति आवश्यक छैन।

उनले भनिन्, ‘युद्धविराम विस्तारै अघि बढ्ने प्रक्रिया हो र पहिलो लक्ष्य विश्वास निर्माण गर्नु हो। यदि यी वार्ताका क्रममा अमेरिकाले इजरायललाई नियन्त्रणमा राखेर लेबनानमा आक्रमण गर्नबाट रोक्न सक्यो भने, त्यो एउटा ठूलो उपलब्धि हुनेछ र ट्रम्पले यसलाई आफ्नो जितको रूपमा लिन सक्नेछन्।’

अल जजिरा