त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले यूएई (UAE) जाने भिजिट भिसा वाहकहरूमाथि कडा निगरानी सुरु गरेको छ। पछिल्ला दिनहरूमा अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा जाने यात्रुहरूको पासपोर्टमा "Employment is strictly prohibited" (रोजगारीमा संलग्न हुन सख्त निषेध) भन्ने हस्तलिखित चेतावनी लेख्न थालेपछि यो विषय विवादित बनेको छ।
मध्यपूर्व (पश्चिम एसिया) मा बढ्दो युद्धको त्रास र सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै सरकारले नयाँ श्रम स्वीकृतिमा लगाएको रोकका कारण वैदेशिक रोजगारीको क्षेत्र तरङ्गित बनेको छ। सरकारको यो निर्णयले एकातिर सुरक्षाको चिन्ता देखाएको छ । अर्कोतिर हजारौं युवा अलपत्र परेका छन् भने करिब २ हजार भिसा रद्द हुने अवस्थामा पुगेको छ।
देशमा रोजगार छैन विदेश जान नयाँ श्रम स्वीकृति अनिश्चित समय सम्म बन्द हुँदा हजारौं युवाहरुले दोस्रो बाटो अपनाएर भएनी जान्छौ भन्ने हुल देखिएको छ । 'म्यानपावर र श्रम कार्यालय धाउँदा महिनौं लाग्छ, धेरै पैसा खर्च हुन्छ। भिजिट भिसामा जाँदा सजिलो हुन्छ भनेर आँट गरेका हौं, तर सरकारले पासपोर्टमै यस्तो लेखेर हाम्रो भविष्यमाथि खेलबाड गर्यो' विमानस्थलमा रोकिएका एक युवाले आक्रोश पोखे।
अध्यागमन विभागको यस्तो निर्णय प्रति असन्तुष्टि जनाउँदै एक युवा फेसबुकमा पोस्ट गर्दै यस्तो भन्छन् 'राहदानी देशको परिचय र नागरिकको सबैभन्दा महत्त्वपूर्ण आधिकारिक दस्तावेज हो। हाल अध्यागमनमा भिजिट भिसामा जाने यात्रीहरूको पासपोर्टमा कलमले हातैले 'नोट' लेख्ने गरिएको छ। यसरी केरमेट गर्दा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा नेपाली राहदानीको स्तर कमजोर देखिन्छ र यो हेर्दा पनि अव्यवस्थित र गैर-व्यावसायिक (Unprofessional) देखिन्छ। यसको सट्टा, आवश्यक जानकारी भएका विशिष्ट छापहरू (Specific Stamps) प्रयोग गर्दा बढी मर्यादित र स्पष्ट देखिने थियो। प्रविधिको प्रयोग गरी डिजिटल रेकर्डमै यस्ता कुराहरू राख्ने वा छापको व्यवस्था मिलाउन हामी हार्दिक अपील गर्दछु।'
अध्यागमन विभागले यूएई जाने भिजिट भिसा वाहकहरूमाथि कडा निगरानी सुरु गरेको छ। पछिल्ला दिनहरूमा अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा जाने यात्रुहरूको पासपोर्टमा "Employment is strictly prohibited" (रोजगारीमा संलग्न हुन सख्त निषेध) भन्ने हस्तलिखित चेतावनी लेख्न थालेपछि यो विषय विवादित बनेको छ।

सरकारले किन चाल्यो यो कदम ?
गृह मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कदम बाध्यात्मक भएको बताएका छन्। यसका प्रमुख कारणहरू यस प्रकार छन्स्
१. भिजिट भिसाको दुरुपयोग: हजारौं नेपाली युवाहरू'श्रम स्वीकृति' (Labor Permit) को झन्झट छल्न भिजिट भिसामा यूएई जाने र त्यहाँ पुगेर लुकिछिपी काम गर्ने गरेको पाइएको छ। यसरी जाँदा उनीहरू वैदेशिक रोजगार कल्याणकारी कोषको सुरक्षा र बिमा सुविधाबाट वञ्चित हुन्छन्।
२. मानव तस्करको चलखेल : 'म्यानपावर' एजेन्ट र दलालहरूले भिजिट भिसाको माध्यमबाट कामदारहरू (विशेष गरी महिलाहरू) लाई घरेलु कामदारका रूपमा अवैध तरिकाले विदेश पठाइरहेको सूचनाको आधारमा यो कडाइ गरिएको हो।
३. अलपत्र पर्ने जोखिम : भिजिट भिसामा गएर काम नपाउँदा वा बिरामी पर्दा धेरै नेपालीहरू यूएईमा अलपत्र परेका छन्। यस्तो अवस्थामा उद्धार गर्न कानुनी कठिनाइ हुने भएकाले सरकारले सुरुमै रोक्ने नीति लिएको हो।
कारण र प्रभाव
विमानस्थलमा सास्ती: यो नयाँ नियमसँगै विमानस्थलमा कडा सोधपुछ (Interrogation) सुरु भएको छ। पर्याप्त डलर (५००-१००० अमेरिकी डलर), दुईतर्फी हवाई टिकट र होटेल बुकिङ नहुने यात्रुहरूलाई विमानस्थलबाटै फर्काउने (Offload) क्रम बढेको छ।
कानुनी डर: पासपोर्टमै ''काम गर्न नपाइने'' भनेर लेखिएपछि, यदि कोही यात्रु यूएईमा काम गरिरहेको अवस्थामा समातिएमा, यो प्रमाण उनीहरू विरुद्ध प्रयोग हुन सक्छ, जसले गर्दा उनीहरूलाई डिपोर्ट (Deport) वा जेल सजाय हुन सक्छ।
श्रम विज्ञहरूका अनुसार, जबसम्म वैदेशिक रोजगारको सरकारी प्रक्रिया (Work Permit Process) सरल, छिटो र कम खर्चिलो बनाइँदैन, तबसम्म भिजिट भिसाको यो समस्या पूर्ण रूपमा समाधान हुन गाह्रो देखिन्छ।
सरकारले यसलाई नागरिकको 'सुरक्षा' को उपाय भने पनि, आम सर्वसाधारणले यसलाई अर्को 'झन्झट' र स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिएका छन्।