संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली यात्रुको राहदानीमा नियमविपरीत केरमेट गरी ‘रोजगारी पूर्ण रूपमा निषेधित’ जस्ता शर्त लेखिएको विषयमा अध्यागमन विभागले छानबिन सुरु गरेको छ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यात्रुको पासपोर्टमा प्रस्थान छापसँगै हस्तलिखित रूपमा यस्तो शर्त उल्लेख गरिएको तस्बिर सार्वजनिक भएपछि विभागले गम्भीर चासो लिँदै कारबाही प्रक्रिया अघि बढाएको हो।
विभागका प्रवक्ता टिकाराम ढकालले जारी गरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ कि कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई अतिरिक्त शर्त राख्ने नीति वा निर्णय नभएको जनाइएको छ।
विभागका अनुसार प्रचलित कानुन र नीतिभन्दा बाहिर गएर यस्ता गैरकानुनी अभ्यास गर्ने कर्मचारीमाथि आन्तरिक छानबिन सुरु भइसकेको छ। साथै, पछिल्लो समय भिजिट भिसामा विदेश जाने प्रक्रिया थप सहज र व्यवस्थित बनाइएको पनि जनाएको छ।
सरकारको निर्णयअनुसार भिजिट भिसामा जाने नागरिकले कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य देशको भिसा र दुईतर्फी हवाई टिकट भएमा ‘स्वघोषणा’ मार्फत सजिलै यात्रा गर्न पाउने व्यवस्था छ।
विभागले नागरिकको बाध्यता दुरुपयोग गरी हुने ठगी तथा शोषण रोक्न नीतिगत सुधार र प्रणाली आधुनिकीकरणमा जोड दिइरहेको बताएको छ। यस्तो अवस्थामा कर्मचारीले व्यक्तिगत निर्णयका आधारमा राहदानीमा अनावश्यक टिप्पणी गर्नु गम्भीर त्रुटि भएको उल्लेख गरिएको छ।
यस घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि विभागले तत्कालै संलग्न कर्मचारीमाथि छानबिन प्रक्रिया अघि बढाएको हो। साथै, यात्रुहरूको आवागमनलाई सहज र सुरक्षित बनाउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।
