युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित र मर्यादित बनाउनेतर्फ सरकार केन्द्रित भएको बताएका हुन्।
श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक पाउनुका साथै आधारभूत जीवनस्तर र सेवा सुविधाहरू सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको उनले जानकारी दिए। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले युरोपेली मुलुकजस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको उनको भनाइ छ।
आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको छ। देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने मन्त्री यादवले बताए। यस प्रणालीको कार्यान्वयनसँगै श्रमिकहरूले साना कामका लागि पनि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ।
पत्रकारहरूसँग कुरा गर्दै मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीलाई तुरुन्तै रोक्न सकिने अवस्था पनि छैन, न त त्यसो गर्नु उचित हुन्छ। आजको विश्व ग्लोबल भिलेज बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवतजावत स्वाभाविक प्रक्रिया हो।’
आफ्नो प्राथमिकता स्पष्ट पार्दै उनले थपे, ‘त्यसैले हाम्रो प्राथमिकता वैदेशिक रोजगारी रोक्ने होइन, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने हो। हामी राम्रो श्रम बजारको खोजीमा पनि छौँ, जहाँ नेपाली श्रमिक शोषणमा नपरुन्।’
श्रमिकको अधिकार र नयाँ गन्तव्यबारे बोल्दै मन्त्री यादवले भने, ‘उचित तलब, सुरक्षित कार्यस्थल, आवास तथा आधारभूत जीवनस्तरका सुविधा प्राप्त गर्न सकुन् भनेर युरोपलगायतका नयाँ र सुरक्षित श्रम गन्तव्यका विषयमा काम भइरहेको छ।’ यस क्षेत्रलाई मर्यादित बनाउन सबैको सहयोग आवश्यक रहेको र जनताले अपेक्षा गरेअनुसार छिटो परिणाम दिन प्रयासरत रहेको उनले बताए।
आन्तरिक श्रम बजारको सुधारबारे उनले थपे, ‘आज जस्तै वैदेशिक रोजगार विभागबाट अनलाइन उजुरी प्रणाली सुरु गरिएको छ। यसै गरी श्रम विभागबाट पनि आन्तरिक श्रम बजारमा हुने श्रम शोषणसम्बन्धी उजुरीका लागि यस्तै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइनेछ।’ हाल आन्तरिक श्रमिकले पनि श्रम कार्यालय धाउनुपर्ने अवस्था रहेकाले ती सेवाहरूलाई डिजिटल माध्यमबाट सहज बनाइने उनले स्पष्ट पारे।
विगतमा कानुन कार्यान्वयनको पक्ष फितलो देखिएका कारण ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै मन्त्री यादवले अबका दिनमा सरकार निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिए। जनताले चाँडो नतिजा खोजेको महसुस गर्दै मन्त्रालयले परिणाममुखी काम गर्न तीव्र गतिमा प्रयास गरिरहेको उनले दाबी गरे। वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउने कार्यमा उनले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छन्।